Kakhara सबैको खबर सम्पूर्ण खबर
खलंगा र सल्लेलाई जोड्न २३८ मिटर लामो झोलुंगे पुल निर्माण
खलंगा-सल्ले जोड्ने झोलुंगे पुल ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ को खलंगा र सल्लेलाई जोड्ने गरी झोलुंगे पुल निर्माण भएको छ । खलंगाको बराह टाकुराबाट सल्ले जोड्ने पुल निर्माण भएको हो । २ सय ३८ मिटर लामो पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पुलको अधिकांश काम सकिएको निर्माण कम्पनी हरिहरि–चन्द्रोदय जेभिका करणवहादुर बिष्टले जानकारी दिनुभयो । अव पुलमा जाली राख्ने सहित अन्य केहि काम मात्र बाँकी रहेको बताईएको छ । १ करोड ३० लाख लागतमा पुल निर्माण भएको हो । 

सुरुमा लम्बाई २ सय ५० मिटर हुने भनिएको थियो । तर कडा चट्टानका कारण तोकिए अनुसार जमिन कटान गर्न नसक्दा पुल केहि अग्लो भएको छ । जसका कारण पुलको लम्बाई घटेको बिष्टले बताउनुभयो । २०७६ को जेठ १ गतेबाट २०७७ को मंसिर मसान्तमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर लकडाउनका कारण समयमा काम सम्पन्न हुन नसकेको बिष्टको भनाई छ । लकडाउनका कारण सामान आपूर्तिमा समस्या भएपछि ६ महिना थप भएको थियो । उक्त समय असार मसान्तमा सकिएको थियो । उक्त समयमा पनि पुल निर्माणको काम सम्पन्न हुन सकेन् । 

पुल निर्माणमा प्रयोग हुने लट्ठा समयमै उपलब्ध नहुँदा असार मसान्तसम्ममा पनि काम नसकिएको ठेकेदार कम्पनीका बिष्टले बताउनुभयो । सरकारले चैत्रमा लट्ठा उपलब्ध गराउनुपर्नेमा असार तेस्रो साता मात्र लट्ठा जिल्ला पुगेको उहाँको भनाई छ । अव भने केहि दिनमा सबै काम सम्पन्न हुने उहाँले बताउनुभयो ।

खलंगा र सल्ले पुलबाट जोडिएपछि मानिसहरुलाई आवत जावतमा सहजता आउने देखिएको छ । त्यस्तै मान्छेहरुका लागि घुम्न जाने, फोटो खिच्ने र रमाइलो गर्ने गन्तव्य समेत बन्ने देखिएको छ । पुल निर्माणछि खलंगा सल्ले जोडिनुका साथै २ नम्बर वडाबाट सदरमुकाम आउने, नगरपालिका आउजाउ गर्न सजिलो र छोटो भएको यस पुल निर्माणका पहलकर्ता दलबहादुर खड्काले बताउनुभयो । यो सर्वसाधारणको दैनिकीलाई सजिलो बनाउनुका साथै एउटा पर्यटकीय दृष्टिकोणबाट पनि महत्वपूर्ण भएको भनाई उहाँको छ । 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update