Kakhara सबैको खबर सम्पूर्ण खबर
अवैध कलेजले फिर्ता गर्यो विद्यार्थीबाट लिएको शुल्क
शुल्क फिर्ता लिँदै विद्यार्थीहरु ।

यहाँको एक अवैध कलेजले विद्यार्थीबाट लिएको शुल्क फिर्ता गरेको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका १, खलंगा बजारमा सञ्चालित स्यार्पूदह इन्जिनियरिङ कलेजले २२ जना विद्यार्थीको शुल्क फिर्ता दिएको हो । १८ महिना कम्प्युटर अपरेटर पढाउने भन्दै विद्यार्थीबाट लिएको ६ लाख ३ हजार रुपैयाँ विहीबार विद्यार्थीलाई फिर्ता दिइएको हो ।

प्रति विद्यार्थी १५ हजारदेखि ५२ हजार सम्म फिर्ता गरिएको हो । कलेजका तर्फबाट स्मृति विकले उक्त रकम माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको रोहबरमा फिर्ता गर्नुभएको हो । कलेजले ठगेको विद्यार्थीहरुले कलेजको विरुद्ध आन्दोलन गरेका थिए भने प्रहरीमा उजुरी पनि गरेका थिए ।

विद्यार्थीले त्यस अघि जिल्ला प्रशासनमा उक्त विषयमा उजुरी परेको थिए । जिल्ला प्रशासन कार्यालयले उक्त घटनाको विषयमा छानविन समिति समेत बनाएको थियो । छानविन समितिले उक्त कलेजले विद्यार्थीलाई ठगेको निष्कर्ष निकालेको थियो । लामो संघर्षपछि विद्यार्थीले न्याय पाएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तुलबहादुर देवकोटाले जानकारी दिनुभयो ।

विभिन्न वाहाना बनाई विद्यार्थीबाट रकम अशुलेर ठग्न खोजिएपछि विद्यार्थी आन्दोलनमा गएको केन्द्रीय सदस्य देवकोटाले बताउनुभयो । विद्यार्थीको उजुरीपछि कलेज सञ्चालक झलक सिर्पालीलाई प्रहरीले पक्रेर मुद्दा चलाएको छ  ।

टिएनटीका सञ्चालकबारे अन्याैलमा प्रहरी
अर्को अवैध भनिएको टिएनटी टेक्निकले कलेजका सञ्चालकबारे भने प्रहरी बेखबर छ । उक्त कलेज सञ्चालक तिलक डाँगी विरुद्ध पनि विद्यार्थीले उजुरी गरेका छन् । तर प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन ।

टिएनटी टेक्निकल कलेजले ३३ जना विद्यार्थीको झण्डै १५ लाख रुपैयाँ ठगि गरेको छ । विद्यार्थीको निरन्तर आन्दोलन र जिल्ला प्रशासन कार्यालयले टिएनटी कलेजले पनि विद्यार्थीबाट ठगि गरेको निष्कर्ष निकालेपछि डाँगी फरार छन् । विद्यार्थीले टिएनटी कलेजमा तालाबन्दी समेत गरिदिएका थिए । 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update