गणेश खड्का जंगली कालिजकै छेउमा हुर्किनु भयो । जंगल नजिकै जंगली कालिज हुन्थे । अरु जंगली चरा नहुने कुरा पनि भएन । जंगली कालिज प्रतिबन्धित चरा हो । न यसको सिकार गर्न मिल्छ । न छोपेर पाल्न नै । जंगलका कालिज देखेर कालिज पाल्न पाए हुने भनेर सोच्ने उनै खड्का अहिले कालिज हुर्काउँदै हुनुहुन्छ ।
उहाँले पालेका पाल्न नपाइने, संरक्षित जंगलका कालिज भने होइनन् । सरकारले नै पाल्ने अनुमति दिइएका कालिज गणेशको परिवारले हुर्काइरहेको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका २, गुजिलढुङ्गामा कालिजको बथान छ । उक्त बथान कतिबेला रुख चढ्छ, कति बेला भुँई झर्छ ।
कतिबेला झुन्ड्याइएको घाँस खान्छ कतिबेला बनिबनाउ चारो खान्छ । विहान उठदेखि राति नसुत्दासम्म गणेश कालिजसँगै हुनुहुन्छ । कालिजकै रेखदेखमा उहाँले दिन विताइरहुन भएको छ ।
कति कालिज छन् त गुजिलढुङ्गामा ?
शारदा–सिस्ने–जलजला कृषि कम्पनी प्राली मार्फत खड्काले कालिज पालन गरिरहनु भएको हो । यहाँ दुई वर्षदेखि कालिज पालन भइरहेको हो । पहिलो लडमा २५ वटा कालिजका चल्ला ल्याएर पालेका खड्काले हाल भने २ सय ७० बढी कालिज हुर्काइरहनु भएको छ ।
२ सय कालिजका चल्ला खरिद गरेर फार्ममा हाल्नु भएको छ भने अरु आफै ह्याचिङ गरेर चल्ला निकाल्नु भएको छ । उक्त फार्ममा हाल विभिन्न ४ छाउलीका कालिज छन् । कति एक वर्ष पुगेका छन्, कति चार महिनाका भए कति केही दिनका भए भने केही दुई महिना बढीका भए । थप चल्ला निकाल्नका लागि उहाँले हाल ह्याचिङ पनि गरिरहनु भएको छ ।
कति खर्च लाग्यो त ?
एक हजार पाँच सयको एउटा चल्ला किनेर उहाँले कालिज पालन गरिरहनु भएको हो । दोस्रो लडमा उहाँले तीन लाखका २ सय चल्ला खरिद गरेर पालन गरिरहनु भएको छ । दोस्रो पटकमा मात्रै कालिज पालनका लागि उहाँले साढे ५ लाख रुपैयाँ लगानी गर्नुभएको छ । यसमा २ लाख रुपैयाँ अनुदान पनि प्राप्त भएको थियो ।
पशु अस्पताल तथा पशु सेवा कार्यालयले विशिष्ट जातका पञ्क्षी पालनका लागि गणेशको फार्मलाई दुई लाख रुपैयाँ अनुदान दिएको थियो । उक्त अनुदानले उहाँले २२ मिटल लामो र ८ मिटर चौडाई भएको खोर निर्माण गर्नुभएको छ । व्यवसायका लागि पाइएको अनुदानले व्यवसायमा सहयोग गरेको उहाँले बताउनुभयो ।
कतिमा पाइन्छ त कालिज ?
कालिजको मूल्य अलि महंगो नै छ । झट्ट सुन्दा कालिज किनेर सबैले खान सकिन्न कि भन्ने लाग्छ । खड्काले पोथीलाई ३ हजार ५ सय र भाले कालिजलाई चार हजार मूल्य तोक्नु भएको छ । यो मूल्य उहाँले भन्दा अनलाइन दर नै यही हो । उहाँसँग हाल अघिल्ला वर्षका केही पोथी कालिज मात्रै बाँकी छन् । भाले कालिज सबै विक्री भइसके ।
हुर्किरहेका सबभन्दा ठूला भनेका ४ महिनाका कालिज छन् । ६ महिनामा विक्री गर्ने गरी योजना बनाएको खड्काले बताउनुभयो । अत्याधिक माग भए अर्कै कुरा नत्र ६ महिना नभइ कालिज विक्री नगर्ने उहाँले बताउनुभयो । यद्यपी केही विक्रीका लागि भनेर अघिल्लो वर्ष नै पालेर राखेका पोथी कालिज छन् ।
बजारको सम्भावना कस्तो छ त ?
महंगो मानिएपछि कालिजको बजार कता हो त । यसमा गणेश आफै पनि ढुक्क हुनुहुन्न । बजारको अवस्था हेरेर कालिज बढाउने योजना उहाँको छ । अलि अलि त जिल्लामै विक्रि हुनेमा उहाँ ढुक्क हुनुहुन्छ । ‘अहिले पनि माग आइरहेको छ, धेरै भएपछि कतै बजार खोज्नुपर्ने हुन सक्छ,’ उहाँले भन्नुभयो, ‘सामान्य बजार त यतै पनि भैहाल्नेवाला छ ।’ उहाँले नभए काठमाण्डौं सम्म पनि सप्लाईको योजना बनाउनु भएको छ ।
कालिजको साथसाथै उहाँसँग बटै, लौकाठ, बाख्रा र लोकल कुखुरा पनि छन् । यसको साथै बेमौसमी तरकारी उत्पादनका नियमित किसान पनि उहाँ हुनुहुन्छ । यसैले पनि सबैको मार्केटका लागि असजिलो नहोला भन्ने बुझाईमा उहाँ हुनुहुन्छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानुकुमार शर्माले कालिजका लागि भर्खरै बजारको समस्या नहुने बताउनुभयो । उहाँले उत्पादन गरेको परिमाणका लागि र थप उत्पादन हुँदा पनि बजार व्यवस्थापनका लागि समस्या नहुने गरेर व्यवस्थाप गर्ने योजना बनाउन सकिने शर्माको भनाई छ ।