Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा अव तीन वटा एयरलाईन्सको उडान, कुन एयरको भाडा कति ? 

रुकुम पश्चिममा भोली साउन ३० गतेबाट समिट एयरले उडान गर्ने भएको छ । जिल्लामा पहिलो पटक समिट एयरले नियमित उडान भर्न लागेको हो । सातामा एक दिन शनिबार नेपालगञ्ज–रुकुम पश्चिम–नेपालगञ्ज उडान भर्न लागेको छ । जेनिशा टुर एण्ड ट्राभल्ससंगको सहकार्यमा समिट एयरले नियमित उडान भर्न लागेको हो । जिल्लावासीको सहजताको लागि समिट एयरको उडान हुन लागेको जेनिशा टुर एण्ड ट्राभल्सका प्रतिनिधि टोपबहादुर खड्काले जानकारी दिनुभयो । ‘थोरै उडान हुँदा धेरै व्यक्तिले सजिलै टिकट पाउने अवस्था छैन्, धेरै जिल्लावासीलाई सेवा दिनका लागि हामीले उठान थप गर्न लागेका हौं उहाँले भन्नुभयो ।’ 

जिल्लामा अव ३ वटा एयरलाईन्सले उडान भर्ने छन् । यसअघि नै नेपाल एयरलाईन्स र तारा एयरलाईन्सले उडान गरिरहेका छन् । अव यसमा समिट एयरलाईन्स थपिएको छ । प्रतिक टुर एण्ड ट्राभल्स र तारा एयरलाईन्सको सहकार्यमा सातामा एक दिन बुधबार नेपालगञ्ज–रुकुम पश्चिम–नेपालगञ्ज उडान भइरहेको छ । नेपाल एयरलाईन्सले भने हप्तामा २ वटा उडान भर्ने गरेको छ । आईतबार काठमाडौं–रुकुम पश्चिम–नेपालगञ्ज र सोमबार नेपालगञ्ज–रुकुम काठमाडौं उठान भइरहेको नेपाल वायू सेवा निगमका रुकुम पश्चिम स्टेसन प्रमुख गोविन्द गिरीले जानकारी दिनुभयो । त्यस्तै बिहिबार काठमाडौं–रुकुम पश्चिम–नेपालगञ्ज र सोही दिन नेपालगञ्ज–रुकुम पश्चिम–काठमाडौं उडान भइरहेको उहाँले बताउनुभयो ।   

कसको भाडा कति ? 
तीन वटै एयरलाईन्सको भाडा भने फरक फरक रहेको छ । समान दुरी भएपनि एयरलाईन्सैपिच्छे भाडा फरक फरक छ । नीजि एयरलाईन्सको तुलनामा नेपाल एयरलाईन्सको भाडा सस्तो छ । नेपाल एयरलाईन्सको रुकुम पश्चिम–नेपालगञ्ज भाडादर ३ हजार ४ सय ६५ रुपैंया रहेको छ । सोही एयरलाईन्समा नेपालगञ्जबाट रुकुम पश्चिम आउँदा भने यात्रुले १ सय रुपैंया बढी तिर्नुपर्छ । त्यस्तै नेपाल एयरलाईन्सको रुकुम पश्चिम–काठमाडौं भाडा ७ हजार ६ सय १० रुपैंया छ । काठमाडौंबाट रुकुम पश्चिम आउँदा पनि १ सय रुपैंया बढी तिर्नुपर्छ । एयरपोर्ट शुल्क बढी भएका कारण १ सय रुपैंया थप तिर्नु परेको नेपाल वायू सेवा निगमका रुकुम पश्चिम स्टेसन प्रमुख गिरीले बताउनुभयो । 

अहिले तारा एयरको भाडा अरुको भन्दा महँगो छ । तारा एयरले रुकुम पश्चिम–नेपालगञ्जको भाडा ५ हजार लिने गरेको छ । भाडा समायोजन गर्ने विषयमा भने छलफल भइरहेको प्रतिक टुर एण्ड ट्राभल्सका प्रतिनिधि लालबिर बोहराले बताउनुभयो । त्यस्तै समिट एयरको भाडा ४ हजार रुपैंया तोकिएको छ । नीजि एयरलाईन्स थपिएपछि भाडामा पनि प्रतिस्पर्धा हुने देखिएको छ ।  

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update