नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य जनार्दन शर्माले पछिल्लो अध्यादेश सत्ता स्वार्थको पराकाष्ट भएको टिप्पनी गर्नुभएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् सम्बन्धिको अध्यादेश सत्ता स्वार्थको पराकाष्ट भएको टिप्पनी नेता शर्माले गर्नुभएको हो ।
छलफल र सहमतिको प्रयासको सट्टा, असहज बाटोबाट काम गर्न खोजिनुले हदसम्मको सत्ता स्वार्थको पुष्टि भएको नेता शर्माको भनाई छ । उहाँले हतास र आत्तिएको मनस्थितिबाट मुक्त भएर अध्यादेश तत्काल फिर्ता लिन समेत माग गर्नुभएको छ । ‘फेरि अध्यादेश सत्ता स्वार्थको परकाष्ठा किन ? छलफल सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन । हतास मनस्थिति बाट मुक्त होऔ, अध्यादेश फिर्ता गर ।’ नेता शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । मंगलबार बिहान बोलाइएको परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो । गत वैशाखमा पनि संवैधानिक परिषद् र दल विभाजनसम्बन्धी अध्यादेश आएपछि नेकपाभित्र विवाद भएको थियो । चौतर्फी विरोधपछि सरकार अध्यादेश फिर्ता गर्न बाध्य भएको थियो ।