रुकुम पश्चिमबाट वितेको आर्थिक वर्षमा झण्डै ७४ हजार लिटर दुध निर्यात भएको छ । वर्षभरीमा जिल्लाबाट ७३ हजार ९ सय ९४ लिटर दुध नेपालगञ्ज गएको छ । मुसीकोट नगरपालिका ४ को नागरिक दुग्ध सहकारी संस्थाले दुग्ध विकास संस्थान नेपालगञ्जमा दुध पठाउने गरेको छ । सहकारी र संस्थान विचमा भएको सम्झौता अनुसार जिल्लाको दुध नेपालगञ्ज गइरहेको छ । वितेको आर्थिक वर्षमा दुधबाट जिल्लामा ४० लाख ६७ हजार ४ सय ८६ रुपैंया भित्रिएको छ ।
आर्थिक वर्ष २०७६/०७६ को तुलनामा भने वितेको आर्थिक वर्ष २०७७÷०७८ मा दुध निर्यात घटेको छ । ०७६÷०७७ मा १ लाख १४ हजार ८ सय ८० लिटर दुध निर्यात भएको थियो । यसबाट जिल्लामा ६१ लाख ९ सय रुपैंया आएको थियो । तर कोरोना भाइरस महामारीका कारण लामो समय बन्दा बन्दी हुँदा दुध निर्यात घटेको नागरिक दुग्ध सहकारी संस्थाका अध्यक्ष धिरन शिर्पालीले बताउनुभयो ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लामो समय निषेधाज्ञा भएका कारण धेरै दुध पठाउन नसकिएको उहाँको भनाई छ । झण्डै ७४ हजार लिटर दुध जिल्ला बाहिर निर्यात हुनुका साथै जिल्लामा १४ हजार ७ सय २८ लिटर दुध सहकारीले बिक्रि गरेको छ । यसका अलावा दही लगायतका दुग्धजन्य पदार्थ उत्पादनमा पनि दुध खपत भएको छ । सहकारीले वितेको वर्ष १ हजार ६ सय ५७ लिटर दहि, ४४ केजि पनिर, ३५ केजि खुवा, २८ केजि घ्यू र २ हजार १ सय ६७ प्लेट खिर पनि बिक्रि गरेको छ । त्यस्तै किसानले उत्पादन गरेको दही र घ्यू पनि खरिद गर्ने गरिएको सहकारीले जनाएको छ ।
५३ लाख बढीको कारोबार
नागरिक दुग्ध सहकारी संस्थाले १ वर्षमा ५३ लाख २७ हजार १४ रुपैंया बराबरको दुध तथा दुग्धजन्य पदार्थको कारोवार गरेको छ । जिल्ला बाहिर गएको दुधबाट ४० लाख ६७ हजार ४ सय ८६ रुपैंया, जिल्लामा बिक्रि भएको दुधबाट ९ लाख १८ हजार ६ सय ९८, दहिबाट १ लाख १८ हजार १ सय, पनिरबाट २२ हजार ३ सय २५, खुवाबाट १७ हजार ६ सय ३५, घ्यूबाट २१ हजार १ सय ५० रुपैंया प्राप्त भएको सहकारीको भनाई छ ।
बार्षिक बिक्रि रकम ५३ लाख २७ हजार १४ रुपैंया रहदा ३८ लाख ७१ हजार ३ सय ८१ रुपैंया किसानकोमा गएको छ । १४ लाख ५५ हजार ६ सय ३३ रुपैंया सहकारीमा रहेको छ । यो रकमबाट कर्मचारी तलब भत्ता, अन्य व्यवस्थापन, गाडी मर्मत लगायतको व्यवस्थापन गरिएको सहकारीको भनाई छ ।