Kakhara सबैको खबर सम्पूर्ण खबर
‘आमाको सम्झना’मा विद्यार्थीलाई पुरस्कार

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले एक विद्यालयका विद्यार्थीलाई पुरस्कृत गर्नुभएको छ । ५ नम्बर वडाको आधारभुत विद्यालय लहरेसिमलका विद्यार्थीलाई नगरप्रमुख शर्माले व्यक्तिगत रुपमा पुरस्कृत गर्नुभएको हो ।

पढाइमा राम्रो गरेका १ देखि ८ कक्षा सम्मका ३/३ जना विद्यार्थीलाई नगरप्रमुख शर्माले नगदले पुरस्कृत गर्नुभएको हो । स्वर्गिय आमा कस्तुरा ढकालको स्मृतिमा उहाँले बाल विकासका बालबालिकालाई खाजा खर्च पनि सहयोग गर्नुभएको हो । साउन २९ गते उहाँको आमाको निधन भएको दश वर्ष पुगेको भएको छ ।

सोही अवसरमा नगरप्रमुख शर्माले एउटा कक्षाबाट अर्को कक्षा उर्तिण गर्दा प्रथम, दोस्रो र तेस्रो भएकालाई नगद पुरस्कार प्रदान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । विद्यार्थीको प्रोत्साहनका लागि भन्दै नगरप्रमुख शर्माले प्रथम आएका ८ जनालाई एक हजार पाँच सय, दोस्रो आएका ८ जनालाई एक हजार र तेस्रो आएका ८ जनालाई पाँच सयका दरले पुरस्कृत गर्नुभएको हो ।

गत वर्षमा उहाँले सोही विद्यालयमा व्यक्तिगत रुपमै ३१ सेट डेस्कबेन्च उपलब्ध गराउनुभएको थियो । उहाँ लगायत उहाँका अरु दाजुभाइहरुले आमाका नाममा अक्षय कोष पनि स्थापना गर्नुभएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update