Kakhara सबैको खबर सम्पूर्ण खबर
कमलदहको विस्तृत अध्ययन हुने
सिस्ने गाउँपालिका, रुकुमकाेट स्थित कमलदह ।

कमलदह । धेरै सुनेको नाउँ हो । धेरै जना पुगेर घुमेको ठाउँ पनि हो यो । रुकुम पूर्व सिस्ने गाउँपालिका ५, रुकुमकोटमा कमलदह छ । दहमा कमल छ समय आए फूल्छ । धेरैले यति जानकारी राखेका छन् । यो भन्दा बढी जानकारी कसैलाई होला तर धेरैलाई छैन ।

यहाँ मात्रै कमल किन उम्रिन्छ ? यो कमलदहको गहिराई कति हो ? कमलदहमा कुन कुन प्रजातिका जिव पाइन्छन् ? के कस्ता वनस्पतिको कमलदहले स्वीकारेर बसेको छ ? यी यस्ता प्रश्न त उब्जिन्छन् तर उत्तर सजिलै भेटिदैन । यससँग सम्बन्धितलाई पनि सायद यस बारे खास थाहा छैन ।

तर यो अवस्था अब धेरै रहने छैन । यसबारेको विस्तृत अध्ययन हुन लागेको छ । सिस्ने गाउँपालिकाले यसबारेमा निर्णय पनि गरिसकेको छ । कमलदहको विस्तृत अध्ययन गर्ने र त्यसबारेको जानकारी राख्ने तयारी गरेको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले कमल, भूगोल, पानी, जिव र वनस्पतिबारे जानेका विज्ञलाई बोलाएर यस बारेमा विस्तृत अध्ययन गर्ने कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।

यस बारेमा निर्णय समेत भइसकेको छ । चालु आर्थिक वर्षमा यस बारेमा काम गर्ने योजनामा गाउँपालिका छ । ‘कमलदह संरक्षण र अरु विकासका लागि पनि यो आवश्यक हुने भयो,’ दाहालले भन्नुभयो, ‘त्यही आवश्यक्ता महशुस गरेर अब गाउँपालिकाले यसको विस्तृत अध्ययन गर्ने कार्यक्रम बनाएको हो ।’

गाउँपालिकाले यसबारे अध्ययनका लागि डिभिजन वन कार्यालयलाई अनुरोध गरेको थियो तर त्यो सम्भव भएन । अब विज्ञलाई नै ल्याएर यसबार विस्तृत अध्ययन गर्ने र विकास र संरक्षणमा लाग्ने योजना बनेको दाहालले बताउनुभयो । 
 

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update