Kakhara सबैको खबर सम्पूर्ण खबर
कमलदहबाट जथाभावी कमलको फूल निकालिदै 

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको कमलदहबाट जथाभावी रुपमा कमलका फूलहरु निकाल्न थालिएको छ । दहबाट कमलको फूल निकाल्न प्रतिबन्ध लगाइएपनि मानिसहरुले मनपरी रुपमा दहबाट फूल निकालिरहेका छन् । दह हेर्नका लागि आन्तरिक पर्यटकहरुको ओईरो लाग्ने गरेको छ । रुकुमकोट भित्रैका र बाहिरबाट घुम्न आएकाहरु सबैले दहबाट फूल निकाल्ने गरेका छन् । 

सिस्ने गाउँपालिकाले यसअघि नै दहबाट कमलको फूल निकाल्न नपाउने भनेर सुचना जारी गरिसकेको छ । गाउँपालिकाले सूचनामात्र जारी गरेको छ । तर मनपरी रुपमा कमलको फूल निकाल्दा पनि हेरेर बसेको स्थानीयको गुनासो छ । यस्तै दहको संरक्षण तथा व्यवस्थापनको लागि एउटा समिति पनि गाउँपालिकाले निर्माण गरेको छ । उक्त समितिले पनि यसमा ध्यान नदिएको स्थानीयको आरोप छ । 

विगतको तुलनामा अहिले दहमा पानी पनि घटेको र कमल पनि पातलिदै गएको छ । दहमा फुलिरहेको फूललाई मान्छेहरूले मनपरी रुपमा दैनिक टिप्दा कमल मासिन्छ की भन्ने पिरले स्थानीयलाई सताउन थालेको छ । दह व्यवस्थापन समितिका अध्यक्ष वामदेव गौतमले भने दहबाट फूल निकालिरहेको अवस्थामा भेटे तत्काल रोकिरहेको बताउनुभयो । दह प्रवेश गर्न टिकट काट्ने र दह हेर्नको लागि एक जना पाले समेत राखिएको उहाँले बताउनुभयो ।

भन्दाभन्दै पनि मानिसहरुले अटेरी गर्दै दहबाट जथाभावी रुपमा फूल निकालेको बताउदै अब व्यवस्थापन समितिले कडाइका साथ काम गर्ने गौतमले बताउनुभयो ।
 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update