Kakhara सबैको खबर सम्पूर्ण खबर
२० करोडको लागतमा एक मेगावाट विद्युत उत्पादन क्षमताको आयोजना बनाउँदै भूमे
भूमे गाउँ कार्यपालिकाकाे कार्यालय ।

रुकुम पूर्वको भूमे गाउँपालिकाले २० करोडको लगानिमा विद्युत आयोजना निर्माण गर्न लागेको छ । गाउँपालिकाले एक मेगावाट विद्युत उत्पादन क्षमताको विद्युत आयोजना बनाउने प्रक्रिया अघि बढाएको हो । गत आर्थिक वर्ष २०७७/०७८ को नीति, कार्यक्रममा विद्युत निर्माण गर्ने उल्लेख गरिएको थियो ।

सोही आर्थिक वर्षमा गाउँपालिकाले आधारभुत काम पनि गरिसकेको छ । उक्त आर्थिक वर्षमा गाउँपालिकाले साढे १३ लाख रुपैयाँ खर्चेर आयोजनाको डिपिआर अर्थात विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । सोही प्रतिवेदन अनुसार आयोजनाको बाँकी काम अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

६ नम्बर वडाको दोमहीमा विद्युत गृह निर्माण गर्ने गरी गाउँपालिकाले आयोजना निर्माणको काम अघि बढाएको हो । थवाङखोला जलविद्युत आयोजना निर्माणको कानूनी तथा अन्य प्रक्रियागत काम भइरहेको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिनुभयो । सरकार–जनताको सयुंक्त लगानीमा उक्त विद्युत आयोजना निर्माण गर्ने अध्यक्ष बुढाले बताउनुभयो ।

विद्युत आयोजनामा ५१ प्रतिशत भूमे गाउँपालिकाको र ४९ प्रतिशत शेयर वापतको रकम लगानी गर्ने गरी तयारी भइरहेको छ । हाल नेपाल धितो बोर्डसँग शेयर निष्कासनको सम्झौता र विद्युत प्राधिकरणसित विद्युत खरिद–विक्री सम्झौताको प्रक्रियामा रहेको अध्यक्ष बुढाले बताउनुभयो । शेयर निष्कासन र विद्युत खरिद–विक्री सम्झौतापछि आयोजनाका बाँकी काम अघि बढ्ने अध्यक्ष बुढाले बताउनुभयो ।

विद्युत उत्पादनपछि विद्युत खपतको ग्यारेन्टीका लागि विद्युत प्राधिकरणसँग पूर्व सम्झौता गरिने उहाँको भनाई छ । आयोजना निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ मा २ करोड बजेट विनियोजन गरेको छ । उक्त बजेटले आयोजनाको भौतिक पूर्वाधारका काम सुरु गर्ने जनाइएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update