नेपाल तेक्वान्दो संघ रुकुम पश्चिमको अध्यक्षमा भद्रबहादुर खड्का चयन हुनुभएको छ । सदरमुकाम मुसीकोट खलंगामा रहेको जिल्ला खेलकुद विकास समितिको सभाहलमा भएको संघको दोस्रो अधिवेशन खड्काको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गर्दै सम्पन्न भएको छ ।
खड्का यसअघि संघको उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँले लामो समय कार्यवाहक अध्यक्षका रुपमा संघमा काम गर्नुभएको थियो । संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा भने गोपाल पुन, सचिवमा गोविन्द बुढाथोकी, सह सचिवमा इला खत्री र कोषाध्यक्षमा योगेशकुमार योगी रहनुभएको छ ।
संघको सदस्यहरुमा देवराज चन्द, निशा केसी, विकास कँवर योगी र डिल्लीप्रसाद शर्मा रहनुभएको छ । नयाँ कार्यसमितिका पदावदी ४ वर्ष रहने छ । अधिवेशनको आजै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कार्यकारी सदस्य तथा तेक्वान्दो संघका केन्द्रीय सदस्य नन्दा वस्यालले उद्घाटन गर्नुभएको थियो ।
अधिवेशनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेशकुमार शर्मा, तेक्वान्दो संघका कर्णाली प्रदेश अध्यक्ष लक्ष्मण कँडेल, विभिन्न खेलकुद संघका पदाधिकारी तथा खेलाडीहरुको सहभागिता रहेको थियो ।