Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा अनिश्चितकालिन निषेधाज्ञा, विद्यालय खोल्न नपाईने  

रुकुम पश्चिममा अनिश्चितकालका लागि निषेधाज्ञा थप भएको छ । यसअघि पटक पटक समय तोकेर थप गर्ने गरिएकामा यो पटक भने अनिश्चितकालका लागि निषेधाज्ञा थप गरिएको हो । जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेको र संक्रमण दर फेरि पनि बढ्न थालेको भन्दै जिल्ला कोभिड व्यवस्थापन समिति (डिसीएमसी) को निर्णय समेतका आधारमा जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञालाई जारी राख्ने जनाएको छ । 

जिल्लामा गत बैशाख १९ गते देखि निषेधाज्ञा जारी छ । कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न भन्दै लामो समय देखि निषेधाज्ञा जारी रहेपनि जिल्लामा कोरोना नियन्त्रणमा आउन सकेको छैन् । अहिले पनि जिल्लामा १ सय ७ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । पछिल्लो समय जिल्लामा कोरोना भाइरसका संक्रमितहरु थपिने क्रम बढ्दै गएको छ । 

यस अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञालाई अर्को सूचना नभएसम्मका लागि थप गरिएको डिसीएमसीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । जिल्लामा साउन ७ गतेदेखि निषेधाज्ञा खुकुलो पारिएको थियो । सार्वजनिक यातायात, व्यापार व्यवशाय लगायत लगभग धेरै क्षेत्र खुलिसकेका छन् । अव पनि सोही अनुसार निषेधाज्ञा जारी रहने गैह्रेले बताउनुभयो । 

अहिले निषेधाज्ञा खुकुलो रहेको र कोरोना संक्रमण दर थप बढ्दै गएमा निषेधाज्ञामा कडाई गर्दै लगिन उहाँको भनाई छ । 

बिद्यालय खोल्न नपाईने 
जिल्लामा अहिले तत्काल बिद्यालयहरु भने खोल्न पाइने छैन् । बिद्यार्थीहरुको भौतिक उपस्थितिमा बिद्यालय संचालन गर्न नपाईने जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख गरिएको छ । त्यस्तै ब्यापार, व्यवशाय बेलुकी ८ बजेसम्म मात्र संचालन गर्न पाईने आदेशमा उल्लेख छ । मेला, महोत्सव, सभा, सम्मेलन गर्न पाईने छैन् भने २५ जनाभन्दा कमको उपस्थितिमा कुनै कार्यक्रम गर्नु परेमा स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्न आदेशमा भनिएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update