Kakhara सबैको खबर सम्पूर्ण खबर
कोभिशिल्ड लगाएकालाई रूकुम पश्चिममा आजबाट अस्ट्राजेनिका खोप लगाईदै 

रुकुम पश्चिममा कोभिशिल्डको पहिलो डोज लगाएका नागरिकलाई आजदेखि दोस्रो डोजका रुपमा अस्ट्राजेनिका खोप लगाईने भएको छ । जिल्लामा आज देखि तीन दिन अस्ट्राजेनिका खोप लगाइदै छ । मुसीकोट नगरपालिका बाहेकका अन्य ५ वटा स्थानीय तहमा कोभिशिल्डको पहिलो डोज पाएर दोस्रो डोज पाउन बाँकीलाई अस्ट्राजेनिका खोप लगाउन लागिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 

मुसीकोटमा भने गत असारमै बचेको कोभिशिल्ड खोप दोस्रो डोजका रुपमा लगाईसकिएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो । जिल्लामा करिब ५ हजार ५ सय जनाले दोस्रो डोज लगाउन बाँकी रहेको उहाँले बताउनुभयो । ५ हजार ५ सय जनालाई नै पुग्ने गरी अस्ट्राजेनिका खोप आईपुगेको उहाँको भनाई छ । गत वर्षको फागुन २३ गतेदेखि चैत्र २ गतेसम्म कोभिशिल्डको पहिलो डोज लगाएका जेष्ठ नागरिक लगायतले दोस्रो डोज लगाउन पाएका छैनन् । 

कोरोना भाइरसको संक्रमण उत्कर्षमा पुगेपछि भारतले खोप दिन इन्कार गर्दा देशभरमा कोभिशिल्डको पहिलो डोज लगाएकाहरु दोस्रो डोजबाट बञ्चित भएका थिए । कतिले बचेको खोप पाएका थिए भने कतिले पहिलो डोज लगाएको ५ महिना भन्दा लामो समयसम्म पनि दोस्रो डोज पाउन सकेका छैनन् । कोभिशिल्ड खोप लगाएकाले अस्ट्राजेनिकाको खोप लगाउन मिल्ने भएपछि जापान सरकारले उपलब्ध गराएको खोप देशभरमा लगाउने क्रम चलिरहेको छ ।

सोही अनुसार जिल्लामा पनि करिब ५ हजार ५ सय जनाले दोस्रो डोजका रुपमा अस्ट्राजेनिकाको खोप पाउन लागेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update