वर्षमा कम्तिमा ५ सय लिटर दुध बिक्रि गर्ने किसानलाई दुधमा अनुदान दिने कार्यक्रम बनाएको मुसीकोट नगरपालिकाका ३७ जना किसानले दुधमा अनुदान पाएका छन् । वितेको आर्थिक वर्ष २०७७/०७८ मा कम्तिमा ५ सय लिटर दुध उत्पादन गरी बिक्रि गर्ने किसानले प्रतिलिटर ३ रुपैंयाका दरले अनुदान पाएका हुन् । नगरपालिकाले अनुदानका लागि आवेदन आह्वान गरेकामा ३७ जनाको आवेदन परेको थियो ।
आवेदन दिएका सबैले अनुदान पाएको नगर पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार किसानले कममा १ हजार ५ सय देखि बढीमा ३९ हजार ६ सयसम्म अनुदान पाएका छन् । २१ जना महिला र १६ जना पुरुष किसानले अनुदान पाएको उहाँलेब ताउनुभयो । दुध उत्पादनमा बृद्धि गर्ने उदेश्यले नगरपालिकाले दुधमा अनुदान दिने कार्यक्रम बनाएको छ ।
जुन कार्यक्रमका लागि गत वर्ष नगरपालिकाले २ लाख ५० हजार बजेट विनियोजन गरेको थियो । उक्त बजेटमध्य २ लाख ४७ हजार बजेट खर्च भएको छ । अनुदान पाउनेमा वडा नम्बर १, २, ३, ४, ५, ७, ११, १२, १३ र १४ नम्बर वडाका किसानहरु रहेका छन् । अनुदानका लागि नगरपालिकामा सुचिकृत तथा दर्ता भएको डेरीमा दुध बिक्रि गरेको हुनेपर्ने प्रावधान तोकिएको छ । नगरपालिकाले कुल ८२ हजार ५ सय ८६ लिटर दुधमा अनुदान बाँडेको छ ।
यो वर्ष पनि अनुदान दिईने
यो वर्ष पनि अनुदान कार्यक्रमलाई निरन्तरता दिईएको छ । यो वर्ष प्रतिलिटर ३ बाट बढाएर ५ रुपैंया अनुदान दिने नगरपालिकाको भनाई छ ।
निःशुल्क पशु बीमा
गत वर्ष किसानले ५० वटा भैंसी र ३ सय १० वटा बाख्राको निःशुल्क बीमा सेवा पाएका छन् । वडा नम्बर ४, ११, १२, १३ र १४ नम्बरका किसानले भैंसीको बीमा र वडा नम्बर १, ५, ६, ७, ८ र १० का किसानले बाख्रोको निःशुल्क बीमा सेवा पाएका छन् । संघीय सरकारले ७५ प्रतिशत बीमा रकम व्यहोर्ने र किसानले २५ प्रतिशत व्यहोर्नुपर्नेमा किसानले व्यहोर्नुपर्ने रकम नगरपालिकाले व्यहोरेपछि किसानले निःशुल्क बीमा सेवा पाएका हुन् । पशु बीमा, शिविर लगायतका लागि २ लाख रुपैंया विनियोजन भएकामा ७७ हजार मात्र खर्च भएको नगर पशु सेवा शाखाले जनाएको छ ।