Kakhara सबैको खबर सम्पूर्ण खबर
एमाले फुट्यो, नेपालद्धारा एमाले समाजवादी दर्ता

नेकपा एमाले विभाजन गरेको माधवकुमार नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशतले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेपाल समूहले नयाँ दल दर्ताको निर्णय गरेको थियो ।

नेता नेपालले एमालेका ५८ केन्द्रीय सदस्यसहित नयाँ दल दर्ताका लागि आवदेन दिनुभएको हो । एमालेमा केपी ओलीले गरेको व्यवहार, दुईदुई पटक संसद भंग गरेको तर, गल्ती स्वीकार नगरेको तथा संसद र संविधानका रक्षाका लागि पार्टी एकताको आवाज उठाएपनि सुनुवाई नभएकाले नयाँ पार्टी बनाउने निर्णयमा पुगेको एमाले समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

नयाँ पार्टीको अध्यक्ष माधवकुमार नेपाल स्वयंम हुनुहुन्छ भने वरिष्ठ नेता झलनाथ खनाल रहनुभएको छ । यस्तै ९५ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको नेता पाण्डेले जानकारी दिनुभयो । एमाले समाजवादीमा नवौं महाधिवेशनदेखि नेपाल समूहमा रहेका स्थायी कमिटीका अधिकांश नेताहरु भने अटाएका छैनन् । 

भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरुले नेता नेपालको साथ छाडेका हुन् । नेकपा एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोग पुगेका नेता राजेन्द्र पाण्डेले भन्नुभयो, ‘भोलि उहाँहरु कहाँ हुनुहुन्छ, भोलिका दिनले देखाउँला । आज उहाँहरु हुनुहन्न ।’

माधव नेपालले नयाँ दल बनाए साथ दिन्छु भन्दै आएका उपाध्यक्ष बामदेव गौतम पनि पार्टीमा हुनुहुन्न । छिट्टै राष्ट्रिय सम्मेलन गर्ने र क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउने नेता पाण्डेले बताउनुभयो । उहाँले एमालेमै अलमलिएर रहेका नेताहरुलाई चाँडै एमाले समाजवादीमा आउन समेत आहृवान गर्नुभयो ।।
 

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update