नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेको नेकपा एमाले समाजवादीको केन्द्रीय सदस्यमा रुकुम पश्चिमका २ जना परेका छन् । यस अघिका वैकल्पिक केन्द्रीय सदस्य शेरबहादुर केसी र कर्णाली प्रदेश सदस्य देवी ओली केन्द्रीय सदस्यमा पर्नुभएको हो ।
नयाँ दल दर्ताका लागि दिइएको निवेदनमा केसी ४४ र ओली ८६ औं नम्बरमा केन्द्रीय सदस्य हुनुहुन्छ । ओली कर्णाली प्रदेश सभाको सदस्य तथा सामाजिक विकास समितिको सभापति समेत हुनुहुन्छ । उहाँहरु दुवै जना यस अघि पनि माधव नेपाल समूहमै रहनु भएको थियो । यता जिल्ला अध्यक्ष विमलकुमार पुन, सचिव हरिप्रसाद शर्मा लगायतको टोली पनि समाजवादी एमालेमै रहेको बुझिएको छ ।
यस अघि पार्टी नफुट्दै जिल्लामा निर्वाचित अध्यक्ष पुन, उपाध्यक्ष ऋषिप्रसाद शर्मा, सचिव हरिप्रसाद शर्मा, उपसचिव माधवप्रसाद गौतम लगायतको टोली माधव नेपाल समूहमै थियो । अब पार्टी नै अलग भएपछि केही नेता कार्यकर्ता यताउता गर्न सक्ने बुझिएको छ । केही नेता कार्यकर्ता यस अघि पनि कतै खुलेका थिएनन् ।