Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका ७९ प्रतिशत भूभागमा विद्युतिकरण 

रुकुम पश्चिमका ७९ प्रतिशत भुभागमा विद्युतिकरण भएको छ । नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रको तथ्यांक अनुसार जिल्लाका ७९ प्रतिशत स्थानमा विद्युतिकरण भएको छ । केन्द्रीय प्रशारण लाईन र स्थानीय लघु जलविद्युत आयोजनाबाट जिल्लामा विद्युत वितरण भइरहेको छ । सबैभन्दा बढी केन्द्रीय प्रशारण लाईनको योगदान रहेको छ । जिल्लाको ६७ प्रतिशत भुभाग केन्द्रीय प्रशारण लाईनमा जोडिएको छ । 

१२ प्रतिशत भुभागमा स्थानीय जलविद्युत आयोजनाबाट उत्पादित बिद्युत पुगेको नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाका १४ हजार ५ सय घरमा बिजुली पुगेको छ । जिल्लामा सबैभन्दा बढी विद्युतिकरण बाँफिकोट गाउँपालिकामा भएको छ । त्यहाँका ५ प्रतिशत घरमा मात्र बिजुली पुग्न बाँकी छ । विद्युत प्राधिकरणका अनुसार मुसीकोट नगरपालिकामा पनि ८ प्रतिशत घर मात्र विद्युत सञ्जालमा जोडिन बाँकी रहेका छन् । 

सबैभन्दा कम विद्युतिकरण आठबीसकोट नगरपालिकामा भएको छ । अझै पनि आठबीसकोटको ५३ प्रतिशत अर्थात आधा भन्दा बढी घरमा विद्युत पुग्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराई जानकारी दिनुभयो । त्यस्तै त्रिवेणि गाउँपालिकाका २० प्रतिशत, सानीभेरी गाउँपालिकाका ३३ प्रतिशत र चौरजहारी नगरपालिकाका ३५ प्रतिशत घरमा बिजुली बल्न सकेको छैन् । यो गत असार मसान्तसम्मको विवरण हो । गत वर्ष मात्र जिल्लाका २५ सय घरधुरीमा बत्ति पुगेको थियो । 

जिल्लामा अहिले सल्यानको श्रीनगर सव स्टेशन र जाजरकोटको जगतिपुर सव स्टेशनबाट विद्युत आपूर्ति भइरहेको छ । मुसीकोट नगरपालिका ३ धैरेनीचौरमा सव स्टेशन निर्माणको काम भइरहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update