Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुमकोटमा अब खाद्यको शाखा कार्यालय

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा रुकुम पूर्वमा पनि स्थापना हुने भएको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सञ्चालन हुने गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा स्थापना हुने भएको हो । खाद्य कम्पनीको शाखा संचालनको लागि खाद्य व्यवस्था समिति समेत गठन भएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओलीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी, एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यालयका प्रमुख, उद्योग बाणिज्य संघका अध्यक्ष र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सल्लेका प्रमुख सदस्य रहेको समिति निर्माण भएको हो । 

यो भन्दा पहिला रुकुम पश्चिमको सल्ले शाखाबाट रुकुम पूर्वमा चामल जाने गरेको थियो । अब भने जिल्लामै खाद्य कम्पनीको शाखा खुल्ने भए पछि जिल्लामा केही बिक्रि केन्द्र पनि थप गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी सल्ले शाखाका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । 

रुकुमकोटमा शाखा स्थापनासँगै तकसेरा, मैकोट, नायगाड र महतमा स्थायी डिपो पनि सञ्चालन हुने भएको छ । अहिले भने तकसेरामा बिक्रिकेन्द्र मात्र रहेको छ । शाखा स्थापनासँगै पुथाउत्तरगंगाको मैकोट, कोल, गरघाट, अर्जल, भुमेको साकिम, क्याङ्सी, रुन्चि, चुनवाङ र सिस्ने गाउँपालिकाको सिस्नेरीमा बिक्रि केन्द्र थप हुने भएका छन् । 

लुम्विनी प्रदेशको एक मात्र हिमाली जिल्ला भएको र रुकुम पूर्वमा धान उत्पादन कम हुने भएकाले खाद्य कम्पनीको शाखा स्थापना गर्न लागिएको हो । उक्त शाखाले जिल्लामा उत्पादन भएको अग्र्यानिक कृषि उपज सिमि, भटमास पनि खरिद गर्ने बताईएको छ । अहिले जिल्लामा ६ हजार क्विन्टल चामलको कोटा तोकिएको छ । शाखा स्थापना पछि भने कोटा थप हुने सल्ले शाखाका निमित्त प्रमुख खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update