Kakhara सबैको खबर सम्पूर्ण खबर
एकीकृत महिला स्वास्थ्य एवं स्वः हेरचाह मेला
एकीकृत महिला स्वास्थ्य स्वः हेरचाह मेलामा स्वास्थ्य परामर्श गर्दै महिला रोग विशेषज्ञ डाक्टर केहलविक्रम जिसी ।

यस पटक बाँफिकोट गाउँपालिकामा नौलो मेला लाग्यो । गाउँपालिकाको १ र २ नम्बर वडाका ३ ठाउँमा परम्परागत नभइ नयाँ मेला लागेको हो । उक्त मेलामा न नाचगान थियो । न कुनै व्यापार पात नै । मेलामा थियो त, स्वास्थ्य चेकजाँच, हेरचाह, परामर्श र औषधोपचार । एकीकृत महिला स्वास्थ्य स्वः हेरचाह मेला पालाकोट, जिपु र थारकाट्टेमा सम्पन्न भएको हो ।

महिला पुर्नस्थापना केन्द्र नेपाल ओरेकको आयोजना, बाँफिकोट गाउँपालिका, जिल्ला अस्पताल रुकुम पश्चिमको प्राविधिक सहयोगमा स्वास्थ्य मेला सम्पन्न भएको हो । मंसिरको २७ गते, पालाकोट, २८ गते जिपु र २९ गते थारकाट्टेमा मेला भएको थियो । उक्त मेलामा खास गरी प्रजनन् स्वास्थ्य अरु विरामीको चेकजाँच, परामर्श तथा औषधी वितरण गरिएको थियो । मेलाबाट ३ सय ६३ महिला र ९१ पुरुष गरी ४ सय ५४ जनाले विभिन्न स्वास्थ्यसँग सम्बन्धित सेवा लिएका छन् ।

पालाकोटबाट १ सय २२ महिला र ४० पुरुष गरी १ सय ६२ जनाले सेवा लिएका छन् । जिपुबाट १ सय ६१ महिला र २६ पुरुष गरी १ सय ८७ जनाले सेवा लिए भने थारकाट्टेबाट ८० महिला र २५ पुरुष गरी १ सय ५ जनाले सेवा लिएको ओरेककी जिल्ला कार्यक्रम अधिकृत दुर्गा बजगाईले जानकारी दिनुभयो । महिलाहरुलाई एकीकृत रुपमा यौन तथा प्रजनन्, मानिसक स्वास्थ्य सेवा प्रदानको साथै जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले उक्त मेला आयोजना गरिएको बजगाईले बताउनुभयो ।

उक्त स्वास्थ्य मेलाबाट प्रतिकारात्मक, प्रर्बद्धनात्मक र उपचारात्मक परामर्श सेवा पनि प्रवाह भएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य मेलामा महिला रोग विशेषज्ञ डाक्टर केहलविक्रम जिसी, मेडिकल अधिकृत विक्रम मानन्धरले स्वास्थ्य चेकजाँच तथा उपचार गर्नुभएको थियो भने इन्दिरा आचार्यले मनोपरार्श सेवा दिनुभएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस १, २०७७  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update