नव गठित नेकपा एमाले समाजवादीकी केन्द्रीय सदस्य देवी ओलीले गलत कुराको विरुद्धमा जानु अपराध नहुने बताउनुभएको छ । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै केन्द्रीय सदस्य ओलीले गलत कुरा सहेर बस्नु बरु गलत हुने उल्लेख गर्नुभएको छ ।
आफू एमाले समाजवादीको केन्द्रीय सदस्य हुनुका कारण बारे लेख्दै ओलीले पार्टी एकताको बाहाना गरेर राष्ट्रको नेतृत्व गर्ने र जिम्मेवारीमा पुगिसकेपछि तानाशाही शैलीमा आफूले विशेष अधिकार प्रयोग गर्ने संवैधानिक र कानुनी व्यवस्थापनलाई बेवास्ता गर्नु राजनीतिक इमानदारीता नभएको जिकिर गर्नुभएको छ ।
दुई दुई पटक प्रतिनिधि सभा विघटन हुँदा प्रतिनिधि सभा पुनस्थापना, कानुनको शासन र संवैधानिक सर्वोच्चताको पक्षमा लडाइँ लडेको र सफलता पनि प्राप्त भएको कारणले नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी)मा आफू सामेल भएको भन्दै उहाँले त्यो आफ्नौ अधिकार भएको पनि बताउनुभएको छ । कर्णाली प्रदेश सभा सदस्य तथा सामाजिक विकास समितिकी सभापति समेत रहेकी ओली एमाले समाजवादीको कर्णाली प्रदेशबाट परेका ७ केन्द्रीय सदस्यमध्य एक हुनुहुन्छ ।
केन्द्रीय सदस्य ओलीको स्टाटस..
आभार सहित धन्यवाद ।
२०४७ साल देखि हालसम्मको मेरो राजनीतिक यात्रामा वैचारिक सांगठनिक र व्यवहारिक रूपमा अभिभावकिय भूमिका प्रदान गर्नुहुने आदरणीय अग्रजहहरू, साथ सहयोग दिनुहुने सहयोद्वाहरु मलाई पनि अभिभावक मान्ने सम्पूर्ण प्रियजनहरूप्रति !
नेपाली राजनीतिक इतिहासमा भएका खास खास परिवर्तनहरू २०४७ होस, २०६२/०६३ होस, नेपालको नयाँ संविधान घोषणा गर्दा होस संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई रक्षा गर्ने सवालमा होस सर्वदलिय र सर्बपक्षीय संघर्ष तथा सहकार्यबाट मात्रै सफलता मिलेको तथ्यप्रति कोही पनि अनविज्ञ छैनौं । आज एकताको बलबाट प्राप्त उपब्धिलाई रक्षा गर्न नसक्नुको परिणाम विभाजन व्यहोर्नु परेको हो । पार्टी एकताको बाहाना गरेर राष्ट्रको नेतृत्व गर्ने र जिम्मेवारीमा पुगिसकेपछि तानाशाही शैलीमा आफूले विशेष अधिकार प्रयोग गर्ने संवैधानिक र कानुनी व्यवस्थापनलाई वेवास्ता गर्नु राजनीतिक इमानदारीता होइन । राज्यको संवैधानिक र कानुनी व्यवस्थाहरू र पार्टीका वैधानिक व्यवस्थाहरू संस्थागत फोरमहरू निष्कृय बनाएर संविधानको अवशिष्ट अधिकार अनि पार्टी विधानको बाधाअड्काउ फुकाउ प्रयोग भएकोले यो संकट नेकपा (एमाले) लाई आइलागेको हो । नेतृत्व एकाङकी हुँदा यस्तै संकट सबैलाई आइ पर्छ । यो कुराबाट शिक्षा लिएर व्यवहारमा देखिने गरिी रूपान्तरण हुनु आजको आवश्यकता हो ।
दुई दुई पटक प्रतिनिधि सभा विघटन हुँदा प्रतिनिधि सभा पुनस्थापना, कानुनको शासन र संवैधानिक सर्वोच्चताको पक्षमा लडाइँ लडेको र सफलता पनि प्राप्त भएको कारणले नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (समाजवादी)मा सामेल भएको हुँ । यो मेरो राजनीतिक अधिकार हो । गलत कुराको विरुद्वमा जानू अपराध होइन । सहेर बस्नु गलत हो । मेरो काम व्यवहारबारे अरूले पनि मेरो बिरोध या समर्थन जे गर्नुहुन्छ उहाँहरूको अधिकार हो । यही हो लोकतन्त्रको सुन्दर पक्ष ।
राजनीतिक यात्रामा संघर्ष–एकता
संघर्ष–एकता–रूपान्तरण भइरहने परिघटनाहरू विश्व राजनीतिक रंगमञ्चमा यस्तै यस्तै छन । निराशा ,कुन्ठा र डाहा भन्दा पनि खुशी, उमंग र स्वभाविक ढंगले सबैको अस्तित्व स्वीकार गरौं ।। यो बाध्यात्मक परिस्थितिको उपज हो । त्यसैले
संविधानको रक्षा र कार्यन्वयन गरौं ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरौं ।
नेकपा एमाले (समाजवादी) जिन्दावाद ! जिन्दावाद !