Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्लाका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध, मुसीकोट २ मा लामो समय देखि विद्युत अनियमित  

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ । लामो समयदेखि विद्युत सेवा अनियमित हुँदा सेवाग्राहीहरु आक्रोशित बनेका छन् । लामो समय देखि विद्युत सेवा अनियमित हुँदा पनि विद्युत प्राधिकरणले वास्ता नगरेको मुसीकोट २ का रमेश खड्काले गुनासो गर्नुभयो । 

वडाका विभिन्न टोलमा लामो समय देखि विद्युत अनियमित भएको उहाँले बताउनुभयो । पूरुणडाँडा, सिस्नेखोला देखि वडा नं. १ को कैलदेउ, छिङ लगायतका टोलमा झ्याप्प आउने र झ्याप्प जाने बिजुलीले उपभोक्तालाई हैरान बनाएको छ । विद्युत सेवा नियमित बनाउनका लागि नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रमा जानकारी गराउदा पनि समस्या हल नभएको खड्काले बताउनुभयो । 

उहाँका अनुसार गत असार १६ गतेबाट अनियमित बनेको बिजुली साउन २८ गतेबाट हने ठप्पै जस्तो भएको छ । विद्युत सेवा नियमित नभए संघर्षका कार्यक्रम चलाउने मुसीकाेट २ का उपभाेक्ताले चेतावनी समेत दिएका छन् ।जिल्लाको सानीभेरी गाउँपालिकाको पेदी, त्रिवेणि गाउँपालिकाको नुवाकोट लगायतका क्षेत्रमा पनि विद्युत सेवा अवरुद्ध हुँदा उपभोक्ताहरुले हैरानी खेपिरहेका छन् । 

एकातिर बनाउँदा अर्कोतिर बिग्रिन्छः विद्युत प्राधिकरण 
नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले लगातारको वर्षाका कारण ठाउँ ठाउँमा पोल ढल्ने, रुख ढलेर तारमा क्षेति पुग्ने गरेका कारण विद्युत अवरुद्ध हुने गरेको बताएको छ । मुसीकोट नगरपालिका १ को गुजिलढुंगामा रुख ढलेर क्षेति पुग्दा वडा नम्बर २ र १ का विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुन पुगेको वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिनुभयो । त्यसअघि पनि विभिन्न कारणले त्यस क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने गरेको र समस्या पत्ता लगाउन मुश्किल परिरहेको उहाँको भनाई छ । अवरुद्ध भएको जानकारी हुने वित्तिकै कर्मचारी खटाउने गरेको उहाँले दाबी गर्नुभयो । 

उहाँका अनुसार सानीभेरी गाउँपालिकाको पेदी क्षेत्रमा ४ वटा पोल ढलेका छन् । भने त्रिवेणि गाउँपालिकाको नुवाकोट क्षेत्रमा ५ वटा पोल ढलेका छन् । अवरुद्ध भएको ठाउँमा मर्मत गरेर विद्युत सेवा सुचारु गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । वर्षाका कारण एकातिर बनाउदा अर्काेतिर बिग्रने गरेकाे उहाँकाे भनाइ छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update