पुथाउत्तरगंगा गाउँपालिका ८, मा एकै दिन २ विद्यालय भवन उद्घाटन गरिएको छ । गराली र रिवाङचौरमा २ भवनको उद्घाटन गरिएको हो । प्रतिनिधि सभा सदस्य कमला रोका र लुम्बिनी प्रदेश सभा सदस्य तेजबहादुर ओलीले गरालीको बाल विकास कक्षा सञ्चालनको भवन र खेलमैदान उद्घाटन गर्नुभएको हो । यसैगरी जनसहयोग मावि रिवाङचौरको ४ कोठे पक्कि भवन पनि उद्घाटन भएको छ । लम्बिनी प्रदेश सरकारबाट नमूना विद्यालय छनौट भएको उक्त विद्यालयको नयाँ भवन उद्घाटन गरिएको हो ।
दुवै ठाउँको विद्यालय भवन निर्माण भएपछि पठन पाठनमा सहजता आउने स्थानीयले बताएका छन् । यस अघि ससाना बालबालिकालाई असजिलो तरिकाले पठन पाठन गराइरहेका गरालीबासीका लागि बाल विकास कक्षाको भवनले अब सजिलो हुने स्थानीय रुद्रबहादुर रोकाले बताउनुभयो । जनसहयोग माविका लागि बनेको उक्त ४ कोठे भवनले पनि पठन पाठन तथा शैक्षिक गुणस्तरीयता कायम गर्न सहयोग पुग्ने विद्यालयले जनाएको छ । शैक्षिक सामग्रीको व्यवस्थापन, विद्यार्थीका लागि कक्षा सञ्चालनका लागि नमूना विद्यालय अन्तर्गतको उक्त भवनले सहयोग पुग्ने विद्यालयले बताएको छ ।