Kakhara सबैको खबर सम्पूर्ण खबर
निर्माण सुरु भएको ८ वर्षपछि बल्ल सकियो कबर्डहलको काम 
बराहटाकुरामा निर्माण गरिएकाे कबर्डहल ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १ खलंगाको बराहटाकुरास्थित कबर्डहल निर्माणको काम २०७० सालमा सुरु भयो । राष्ट्रिय खेलकुद परिषद्ले रुकुम सहित अन्य विभिन्न जिल्लामा एउटै डिजाईन स्टामेटका कवर्डहल निर्माणको काम सुरु गर्यो । निर्माण सुरु भएको केही वर्षमा ७२ लाख १६ हजार ४ सय ४६ रुपैंया खर्चिदै कवर्डहल ठड्याउने काम भयो । तर कबर्ड हल निर्माणको काम पुरा नभई विचमै अलपत्र छाडियो । कबर्डहललाई बन्द हलको स्वरुप दिन झण्डै ८ बर्ष लाग्यो । कबर्डहल भनिएपनि खुला हलका रुपमा बर्षौ अलपत्र परेको यो हलले ८ वर्षपछि बल्ल पुर्णता पाएको छ । 

हाल कबर्डहललाई चारैतिरबाट बन्द गरिएको छ । हल भित्र अन्य व्यवस्थापनको काम गरिएको छ । प्रतिनिधि सभा सदस्य जनार्दन शर्माको स्थानीय पूर्वाधार विशेष कार्यक्रम २० लाख र मुसीकोट नगरपालिकाको ५ लाख गरी २५ लाख लागतमा कबर्डहलको निर्माण कार्यलाई पूर्णता दिईएको छ । यो संगै कबर्डहलमा झण्डै १ करोड बजेट खर्च भएको छ । पछिल्लो पटक बराहटाकुरा कवर्डहल मर्मत उपभोक्ता समितिले बाँकी रहेको काम सम्पन्न गरेको हो । कबर्डहलको अगाडिपट्टीको भागमा पहिला भएकोमा १० फुट अग्लो २५ मिटर लामो भित्ता थपिएको छ भने चारैतिरबाट जस्ता पाताले कबर्डहललाई बारिएको मर्मत उपभोक्ता समितिका अध्यक्ष अनिल बढाले जानकारी दिनुभयो । 

यसका अलावा हलभित्र पिसीसी ढलान गरिएको छ भने शौर्य उर्जा जडान गरिएको छ । हलको बाहिरपट्टी एक साइटमा पेटी समेत लगाईएको छ । गेट पनि नयाँ निर्माण गरिएको छ । कबर्डहलको लम्बाई २५ मिटर, चौडाई २० मिटर र उचाई २५ फिट रहेको छ । कबर्ड हल निर्माण पुरा भएपछि हलभित्र दुई वटा ब्याडमिन्टन कोर्ट निर्माण गरिएको छ । कबर्डहलमा ब्याडमिन्टन संगै मार्शलआर्ट अन्तरगतका खेलकुद र अन्य इन्डोर गेमहरु पनि संचालन हुने छन् । कबर्डहलको उद्घाटन हुन भने बाँकी रहेको छ । 

निर्माण सुरु भएको ८ वर्षपछि कामले पूर्णता पाएपछि खेलाडिहरु उत्साहित भएका छन् । विशेषगरी इन्डोर गेमको अभ्यासका लागि सजिलो हुने भएपछि इन्डोर गेमका खेलाडिहरु उत्साहित भएका हुन् । ब्याडमिन्टन, मार्शलआर्ट अन्तरगतका तेक्वान्दो, कराते लगायत खेलका खेलाडिहरुले अव झरी र हुरीका बावजुत पनि नियमित अभ्यास गर्न पाउने भएका छन् ।     
 

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update