नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कर्णाली प्रदेशको अध्यक्षमा राजकुमार शर्मा तोकिनुभएको छ । माओवादी केन्द्रको स्थायी समिति बैठकले खाली रहेको प्रदेश समिति अध्यक्षमा रुकुम पश्चिमका नेता शर्मालाई तोकेको हो । चौरजहारी नगरपालिका १४, का स्थायी बासिन्दा शर्मा माओवादीको पोलिटव्युरो सदस्य हुनुहुन्थ्यो ।
उहाँ हाल जिल्ला समन्वय समिति रुकुम पश्चिम प्रमुख तथा जिल्ला समन्वय समिति महासंघको कर्णाली प्रदेश अध्यक्ष हुनुहुन्छ । उहाँले यस अघि पार्टीको केन्द्रीय प्रचार विभाग, गणतान्त्रिक मञ्चको केन्द्रीय अध्यक्षको जिम्मेवारी पूरा गर्नुभएको थियो ।
त्यस अघि जनयुद्धको समयमा उहाँले कालिकोट, जुम्ला, हुम्ला, मुगु, दैलेख लगायतका जिल्लामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ २०४१ सालदेखि विद्यार्थी संगठनमा लागेका उहाँ २०५२ सालमै पूर्णकालिन पार्टी कार्यकर्ता बन्नुभएको थियो ।
स्थायी समितिले प्रदेशको सचिवमा रामदिप आचार्यलाई तोकेको छ । जाजरकोट निवासी उहाँ यस अघि पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । यस अघिको केन्द्रीय समितिको बैठकले प्रदेशका रिक्त पदमा मनोनित तथा तोक्ने जिम्मा स्थायी समितिलाई दिएको थियो ।