Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्रको युवा तथा खेलकुद विभागमा गणेशमान
गणेशमान पुन ।

नेकपा माओवादी केन्द्रका नेता गणेशमान पुनले पार्टी युवा तथा खेलकुद विभागको प्रमुखको जिम्मेवारी पाउनुभएको छ । हालै सम्पन्न पार्टीको केन्द्री समिति बैठकबाट नेता पुनलाई युवा तथा खेलकुद विभागको प्रमुखको जिम्मेवारी दिइएको हो । यस्तै अखिल नेपाल खेलकुद महासंघको इन्चार्जको जिम्मेवारी पनि पुनले नै पाउनु भएको छ ।

रुकुम पूर्व सिस्ने गाउँपालिका २ मा स्थायी घर भएका पुन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुनुहुन्छ । यस अघि उहाँ सिंगो नेकपा हुँदा पार्टीको पोलिटव्युरो सदस्य हुनुहुन्थ्यो । उहाँ पूर्व मन्त्री पनि हुनुहुन्छ । २०३० मंसिर ४ गते जन्मनु भएका गणेशमान पुन ‘रश्मी’ विद्यार्थीकालदेखि नै राजनीतिमा होमिनु भएको हो ।

विद्यालय तहबाटै राजनीतिक थालेका पुन २०४८ सालमा भएको अखिल क्रान्तिकारी रुकुमको एकताको १० औं जिल्ला सम्मेलनबाट अध्यक्षमा निर्वाचित हुनुभयो । विद्यार्थी राजनीति हुँदै पार्टीमा होमिनुभएका उहाँले २०४९/०५० तिर साविक रुकुम जिललाका हुकाम, मैकोट, महत, चुनवाङ, रुँघा, खारा, पिपल, स्यालापाखा, पुर्तिमकाँडा लगायतका ठाउँमा जनसेवा अभियानको नेतृत्व गरी अभियान सफल पार्नुभएको थियो । 

२०५१ सालको सिज मितेरी अभियान सन्चालन र त्यसमा महत्वपुर्ण भुमिका निर्वाहसँगै २०५२ सालमा सुरु भएको जनयुद्धकै पहिलो फौजी कारवाही २०५२ को फागुन १ गते रुकुम आठविसकोट गाविसको राडी प्रहरी चौकी आक्रमणको फौंजी तर्फको होल कमाण्डरको भुमिका स–कुशल निर्वाह गर्नुभएको थियो । उक्त फौंजी आक्रमणको राजनीतिक कमिसार भने हेमन्तप्रकाश ओली हुनुहुन्थ्यो । 

२०५३ सालमा रुकुम जिल्ला पार्टीको सेक्रेटरीको जिम्मेवारी पाएर उहाँले आफ्नो जिम्मेवारी कुशलतापुर्वक सम्पन्न गर्नुभएको थियो । रुकुम जिल्लाको सेक्रेटरीको भूमिकामा हुँदा उहाँ २२ बर्षको मात्र हुनुन्थ्यो । जनयुद्धको दौरान २०५४ सालमा प्रहरीद्धारा गिरफ्तारीमा पर्नुभएका उहाँलाई २०५८ सालमा तत्कालीन जनसेनाले भेरी अञ्चल असपताल नेपालगञ्जबाट  रिहा गराएको थियो । प्रहरीले उपचारको लागि असपताल पुर्याएको समयमा उहाँलाई प्रहरीबाट मुक्त गराईएको थियो ।

प्रहरीबाट मुक्त भएपछि पुनः जनयुद्धमा होमिनु भएका गणेशमानले तत्कालीन जनमुक्ति सेनाको डिभिजन कमाण्डरको भुमिका सफलतापुर्वक निर्वाह गर्नुभयो । त्यसलगत्तै तत्कालिन नेकपा (माओवादी)को व्युरो सदस्य हुँदै केन्द्रीय सदस्य सम्म बन्नुभयो । शान्ति स्थापना पश्चात जनमुक्ति सेनालाई व्यारेकिकरण गरिएपछि २०६३ सालमा पुर्नस्थापना गरिएको योङ्ग कम्युनिष्ट लीग (वाइसीएल)को संयोजकको भुमिका निर्वाह गर्नुभयो ।

त्यसपछि पुनः २०६५ सालमा भएको एकताको राष्ट्रिय भेलाबाट सर्वसम्मत (वाइसीएल)को अध्यक्षको जिम्मेवारी समाल्नुभयो । मकवानपुरको हेटौंडामा भएको एकीकृत नेकपा (माओवादी)को सातौं महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य निर्वाचित हुनुभयो । २०७० साल भदौ महिना काठमाडौंमा भएको (वाइसीएल)को प्रथम राष्ट्रिय सम्मेलनबाट उहाँ अध्यक्षमा फेरि चुनिनु भएको थियो । त्यसपछिको कार्यकालपछि भने उहाँले वाइसीएल छाडेर पार्टी राजनीतिमा केन्द्रीत हुनु भएको थियो । उहाँ सहिद पुत्र हो । २०५३ साल चैत्र १३ गते प्रहरीले गणेशमान पुनका बुवा डिलबहादुर पुनलाई घरकै आगनमा प्रहरीले हत्या गरेको थियो । 
 

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update