Kakhara सबैको खबर सम्पूर्ण खबर
नबालेको बिजुलीको महशुल तिर्दै उपभोक्ता
जामाखोला लघु जलविद्युत आयोजनाका विद्युत उत्पादन गृह ।

श्रमदान मार्फत सर्वसाधारण आफैले निर्माण गरेको बिजुली जडान गरिएको भए पनि रुकुम पूर्वको एक वडाका सर्वसाधारणले भने महशुल भने नेपाल प्राधिकरणलाई तिर्ने गरेका छन् । सिस्ने गाउँपालिका ८ नम्बर वडाका उपभोक्ताले नेपाल विद्युत प्राधिकरणलाई महशुल बुझाउँदै आएका हुन् ।

उक्त वडाका नागरिकहरुले वडामा उत्पादित जामाखोला लघु जल विद्युत आयोजनाको बिजुली बाले पनी घरमा जडान गरिएको मिटरबक्सको आधारमा विद्युत प्राधिकरणलाई महशुल बुझाउन बाध्य भएका हुन । ऊर्जा प्रवद्र्धन केन्द्रको २ करोड १३ लाख र स्थानीयको श्रमदान गरी झन्डै ४ करोडको लगानिमा २०७२ सालमा निर्माण भएको विद्युत आयोजना २०७५ साल असोज ३० गते बिहान पहिरोले बगाएको थियो ।

विद्युत आयोजनाको पुन निर्माण हुन लामो समय लाग्ने भएको हुँदा त्यस अवधिमा  स्थानीय सरकारको पहलमा यस वडामा केन्द्रीय प्रसारणबाट गाउँमा बिजुली बालिएको थियो । प्राधिकरणको विद्युत जडान भएको केही दिनमै उपभोक्ताले घरमा मिटर बक्स राखे । क्षेतीग्रस्त जामाखोला विद्युत आयोजना २९ महिना पछि २०७७ साल फागुन १६ गते पुन निर्माण सम्पन्न भइ विद्युत प्रसारण सुरु गरेपछि नेपाल विद्युत प्राधिकरणको प्रसारण लाईन काटिएको थियो ।

विद्युत लाइन काटिए पनि मिटर बक्स भने घरमा झुन्ड्याइएको छ । सोहि मिटरको आधारमा आफुहरुले प्राधिकरणलाई महसुल बुझाउँदै आएको सिस्ने ८ पलसिङ सार्की बताउनु भयो । मिटर बक्स फिर्ता र सदस्यता खारेज गर्ने पनि पैसा लाग्ने भए पछि आफूहरु मर्कामा परेको सोहि ठाउँका पदम बहादुर बुढाको भनाई छ । अहिले वडाका ४ सय घर बढी उपभोक्ताले बिजुली उपयोग नै नगरी प्राधिकरणलाई महशुल बुझाउँदै आएका छन् ।

वडाका नागरिक यस्तो समस्याको चपेटामा पर्दा पनि जामाखोला उपभोक्ता समिति, वडा कार्यालय, र गाउँपालिकाले वेवास्ता गरेको स्थानीयले आरोप लगाएका छन् । जामाखोला उपभोक्ता समितिका सचिब बिष्णु सार्किले महशुलको विषयमा छिनोफानो गर्न आफुहरु भन्दा माथिल्लो निकाय वडा सरकार र गाउँपालिका सरकारको जिम्मेवारी रहेको बताउनु भयो । स्थानीय सरकारले पहिले जुन सम्झौतामा विद्युत खरिद गरिएको थियो अहिले पनि त्यसरी नै मिटर फिर्ता गर्नुपर्नेमा उहाँको जोड छ ।

 विद्युतको लगत कट्टा गरीपाउँ भनेर वडामा निवेदन आयो भने  वडा मार्फत प्रक्रिया अगाडी बढाउने वडा अध्यक्ष खर्कसिं थापाले बताउनुभयो । प्राधिकरणलाई मिटर फिर्ता गरी सदस्यता खारेज गरियो भने प्राधिकरणलाई महशुल बुझाउन नपर्ने अध्यक्ष थापाले बताउनुभयो । मिटर बक्सको आधारमा अब देखि प्राधिकरणलाई महशुल  नदिने गाउँपालिकाको भनाई छ ।

लामो समय सम्म महशुल नबुझाएपछि बाध्य भएर प्राधिकरणले  आफै मिटर लिने सिस्ने गाउँपालिका उपाध्यक्ष गोबरधन बुढाले बताउनुभयो ।  महशुलको विषयमा जनताले कुनै दुख झेल्नु पर्यो भने त्यसको जिम्मेवारी गाउँपालिकाले लिने उपाध्यक्ष बुढाको भनाई छ । वितरण केन्द्र मुसिकोट खलंगाले भने विद्युत काटिएपछि प्राधिकरणको नियमनुसार लगत कट्टा गर्न पर्ने  हो ।

तर त्यहाँका उपभोक्ताले जामाखोला आयोजनामा फेरि पनि खराबी आउन सक्ने र फेरी प्राधिकरण कै सदस्यता बन्नु पर्ने हुँदा आफुहरुले लगत कट्टा नगर्ने अडानमा रहेको वितरण केन्द्रका त्रिलोचन भट्टराईले बताउनुभयो । सिस्ने गाउँपालिकाले  उपभोक्तालाई महशुल नबुझाउन आग्रह गरे पनि कानुनी प्रक्रिया अनुसार महशुल असुल गर्ने प्रमुख भट्टराईको भनाई छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update