रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ५ मा रहेको बालुवा बस्ति उच्च जोखिममा परेको छ । दुईपट्टीबाट नदी र खोला जमिन कटान गर्दा बस्ति जोखिममा परेको हो । एकातिरबाट सानीभेरी नदी र अर्कोतिरबाट रुकुमगाड खोलाले कटान गर्दा बस्ति उच्च जोखिममा परेको हो । लगातारको वर्षासँगै आएको बाढीले रातदिन बालुवामा रहेको खेति योग्य जमिन कटान गरिरहेको छ ।
अव वस्ति कटानको उच्च जोखिममा परेको स्थानीयको भनाई छ । गत वर्ष देखि नै नदीले बालुवाको जमिन कटान गर्न सुरु गरेको थियो । अहिले सम्म सानीभेरी नदी र रुकुमगाड खोलाले ठुलो क्षेत्रफलमा रहेको जमिन बगाएको स्थानीय विश्व केसीले जानकारी दिनुभयो । बस्तिको सुरक्षाका लागि पटक पटक सम्बन्धीत निकायहरुलाई गुहार्दा पनि अहिले सम्म कसैले वास्ता नगरेको केसीको गुनासो छ ।
उक्त बस्ति भूमे गाउँपालिकाको भूभागमा पर्ने भएपनि त्यस क्षेत्रमा सिस्ने गाउँपालिकाका १५ घर परिवार बसोवास गर्दै आएका छन् । यता सिस्ने गाउँपालिकाले भने अहिले बालुवा बस्तिमा तटबन्ध गर्ने अवस्था नरहेको बताएको छ । यो समयमा नदीको बहाब बढेको हुँदा बस्तिलाई तटबन्ध गर्न सम्भव नभएको सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोबरधन बुढाले बताउनुभयो । सानीभेरी नदी र रुकुमगाड खोलामा पानीको बहाव कम भयो भने बस्तिको सुरक्षाका लागि पहल गर्न सकिने उहाँले बताउनुभयो ।