Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा एकै दिन झण्डै  सय कर्मचारी अनुपस्थित
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम ।

जिल्ला स्थित सरकारी कार्यालयका झण्डै सय जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार गरेको छड्के अनुगमनको क्रममा संघ तथा प्रदेश मातहत कार्यालयका ९८ जना कर्मचारी कार्यालयमा अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । १७ वटा कार्यालयको अनुगमन गरिएकामा ६ वटा कार्यालयका प्रमुख नै कार्यालय हाजिर नभएको पाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । १७ कार्यालयमध्य १३ कार्यालयका कर्मचारी अनुपस्थित भेटिएका प्रजिअ गैह्रेले बताउनुभयो ।

विना जानकारी र विदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित भएको तथा केही कर्मचारीहरु लामो समयदेखि कार्यालयमा अनुपस्थित भएको पाइएको प्रजिअ गैह्रेले बताए । तोकिएको समयमा र नियमित रुपमा कार्यालयमा उपस्थित नहुने कार्यालय प्रमुख सहितका कर्मचारीलाई सम्बन्धित कार्यालय मार्फत ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ । साथै कर्मचारीलाई नियमितता र समयको पालना नगराउने, विदा स्वीकृत नगराई विदामा छाड्ने तथा कर्मचारीको उपस्थिति अभिलेख व्यवस्थित नगराउने कार्यालय प्रमुखलाई समेत स्पष्टीकरण सोधिएको प्रजिअ गैह्रेले बताउनुभयो ।

चित्त बुझ्दो स्पस्टीकरण नदिएमा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने जिल्ला प्रशासनले जनाएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयले जिल्ला समन्वय समिति, ग्रामिण पुन निर्माण तथा पुर्नस्थापना आयोजना, जिल्ला हुलाक कार्यालय, जिल्ला मालपोत कार्यालयको छड्के अनुगमन गरेको थियो । यसैगरी खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय, नापि कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, स्वास्थ्य सेवा कार्यालयको पनि छड्के अनुगमनमा परेका छन् ।

तरकारी बीउ उत्पादन केन्द्र चापा, डिभिजन वन कार्यालय, पहाडी साना किसानका लागि अनुकुलन आयोजना आशा परियोजना, तथ्याङ्क कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, समाजिक विकास कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र कृषि विकास कार्यालय छड्के अनुगमनमा परेका हुन् । जिल्ला प्रशासन कार्यालयले सबैका हाजिरी रजिष्टर पनि थुतेर ल्याएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, पुस १, २०७७  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update