आज भोली फेसबुक, टिकटकमा रुकुम पश्चिमको एक पुल भाइरल छ । मुसीकोट नगरपालिका १ खलंगाको बराहटाकुराबाट सल्ले जोड्ने झोलुंगे पुलमा खचाखच मान्छेको भिड हुन्छ । पुलमा जानेहरु फोटो खिच्न र भिडिओ बनाउन तछाड मछाड गर्छन् । दुई डाँडालाई वारीपारी जोड्ने यो पुल टाढाबाट डोरी झै देखिन्छ । अग्लो स्थानमा झुण्डिएको यो पुल जति मनमोहक छ त्यति नै जोखिमपूर्ण पनि । लम्बाई बढी भएकाले धेरै हल्लिन्छ ।
जो कोही पुल वारपार गर्न डराउँछन् । त्यही पुलमा गएर मान्छेहरुले रमाइलो गर्ने गरेका छन् । दिनभर जसो पुलमा मान्छेको भिड हुन्छ । जतिबेला पनि पुलमा मान्छेहरुको कमि हुँदैन् । यो पुल प्रयोग गरेर गन्तव्यमा जानेहरु कम छन् । पुल हेर्न, फोटो, भिडिओ खिच्न र रमाउनका लागि बालबालिका देखि बृद्ध बृद्धासम्म पुग्ने गरेका छन् । युवाहरुको त के कुरा गर्नु । नयाँ नयाँ गन्तव्यको खोजि गरिरहेने र नयाँ नयाँ ठाउँमा पुगेर रमाउने युवाहरुका लागि यो पुल नयाँ गन्तव्य बनेको छ ।
अनावश्यक ठाउँमा पुल निर्माण भयो भनेर आलोचना पनि नभएको होईन् । बन्नुपर्ने ठाउँमा नबन्ने तर जहाँ आवश्यकता नै होईन त्यहाँ अनावश्यक खर्च भयो भन्नेहरु समेत छन् । तर यो पुलबाट धेरैले लाभ त उठाएका छन् नै आन्तरिक पर्यटकहरुका लागि नयाँ गन्तव्य बनेको छ । पुल निर्माण हुने बेला देखि नै मान्छेहरुको चाप बढ्दै गएको थियो ।
कतिसम्म भने पुलमा धेरै मान्छेको चाप बढेर दुर्घटनाको जोखिम बढेपछि करिब २ साता जति त प्रहरी नै खटाउनुपरेको थियो । पुलको उद्घाटन हुन बाँकी छ । तर पुलको काम सकिएकै दिन देखि मान्छेहरुको चाप ह्वात्तै बढेको छ । साना साना बालबालिकाहरु पनि पुलमा पुग्ने गरेका छन् ।
कुनै दुर्घटना त हुने होईन भनेर चिन्तापनि गर्न थालिएको छ । पुलमा अनावश्यक भिड हुँदा झै झगडा हुने जोखिम पनि उच्च छ । पुलको वारी–पारी पट्टी जोखिमपूर्ण भिरालो ठाउँ भएकाले पनि जोखिम छ । पुलमा मात्र होईन पुल पारी पट्टी सल्लेतिरको भूभागमा रहेको डाँडामा पनि मान्छेहरु पुगेर फोटो तथा भिडिओ खिच्न व्यस्त हुन्छन् । पत्थर नै पत्थर रहेको र निकै भिरालो भएका कारण जोखिम उच्च छ ।
यस पुलको लम्बाइ २ सय ३८ मिटर लामो छ । उचाई पनि झण्डै २ सय मिटर छ । साहसिक गन्तव्य र नयाँ ठाउँ गन्तव्यको खोजिमा रहेको अहिलेको पुस्ताका लागि यो एक उपयुक्त गन्तव्य त बनेको छ । तर यहि अवस्थामा भिडभाड हुन थाल्यो भने कुनै दुर्घटना नहोला भन्न सकिन्न । यसमा सबै गम्भिर बन्न भने जरुरी छ ।