Kakhara सबैको खबर सम्पूर्ण खबर
उत्पादित तरकारी बजार पुर्याउनै मुस्किल

रुकुम पूर्वका अधिकांश क्षेत्रको कृषि उपज बजार पुग्न पाएको छैन । ग्रामिण सडकहरु अवरुद्ध हुँदा गाउँमा उत्पादन भएको कृषि उपजले बजार पाउन समस्या भइरहेको हो । वर्षा लागेसँगै जिल्लाका अधिकांश ठाउँका ग्रामिण सडकहरु अवरुद्ध छन् । जसका कारण गाउँमा उत्पादन भएको कृषि उपजलाई बजारसम्म पुर्याउन समस्या भैरहेको छ ।

जिल्लाका विभिन्न ठाउँमा वर्षाको समयमा तरकारी खेती हुने गरेको छ ति ठाउँका कृषकहरुले सडक नहुँदा उत्पादित तरकारीहरुलाई बजारसम्म पुर्याउनै कठिन भइरहेको गरेको कृषकहरुले बताएका छन । सिस्ने गाउँपालिका वडा नम्बर ८ का सुजन रावलले यस वर्षबाट गाउँमै टमाटर खेतीको सुरुवात गर्नुभएको छ ।

८ वटा टनेलमा गरिएको खेतिबाट दैनिक रुपमा १ क्विन्टल बढी टमाटर उत्पादन हुने गरेको छ तर बजारसम्म पुर्याउन भने सजिलो छैन । सडक अवरुद्ध भएकाले दैनिक रुपमा उत्पादन भइरहेको टमाटर रुकुमकोट बजारसम्म पुर्याउन कठिन भएको रावलले बताउनुभयो ।

रुकुमकोट बजारसम्म पुग्ने मुख्य सडकको विभिन्न ठाउँमा पहिरो झरेका कारण रुकुम पश्चिमको मुसिकोट नगरपालिका खलङगा भएर मध्यपहाडी लोक मार्ग हुँदै रुकुमकोटसम्म टमाटर पुर्याउनु पर्ने बाध्यता रहेको रावलले बताउनुभयो । यस वर्षबाट ३ लाख रुपैयाँ लागतमा टमाटर खेति सुरु गर्नु भएका रावल अहिले उत्पादन भएको टमाटरलाई समयमै बजारीकरण गर्न नपाउँदा मर्कामा पर्नुभएको छ । 

रावलको मात्र नभई जिल्लाका अन्य कृषकहरुको समस्या पनि उस्तै रहेको छ । लगातार वर्षा हुँदा ठाउँ ठाउँमा पहिरो खसेर सडकहरु अवरुद्ध छन् । स्थानीय तहहरुले भने मौसम सफा भएपछि र वर्षा हटेपछि मात्रै सडक सुचारु गर्ने बताएका छन् । अहिले सडक खुलाउँदा पानी पर्ने वित्तिकै फेरी अवरुद्ध हुने भएकाले मौसम पूर्ण रुपमा सफा भएपछि मात्रै सडक खुलाउने जिल्लाका तीन वटै स्थानीय तयारी छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update