रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ ले गाउँमै बैंकिङ सेवा दिन थालेको छ । बैंकको पहुँच भन्दा टाढा रहेका नागरिकलाई गाउमै पुगेर सेवा दिन थालिएको हो । सामाजिक सुरक्षा भता र बालबालिकाको पोषण भत्ताको लागि आज देखी वडामै पुगेर के.वाई.सी फर्म भर्न सुरु गरिएको वडाले जनाएको छ ।
फर्म भर्नको लागि गाउँपालिकाबाट कर्मचारी वडामा पुगेका छन् । बर्षा तथा अन्य समयमा पनि रुकुमकोटसम्म पुग्न समस्या भएको हुँदा वडाबाट नै सेवा दिन थालिएको वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । के.वाई.सी फर्म सबै नागरिकले वडामै आएर भर्नुपर्ने र अशक्त अपाङ्ग नागरिकहरुको लागि भने घरमै पुग्ने उहाँले बताउनुभयो ।
फर्म भरी सकिए लगतै नेपाल बैंकसंग सहकार्य गरेर अर्को हप्तासम्म वडाबाट भत्ता प्रदान गरिने बताइएको छ । अशक्त र अपाङ्ग नागरिकहरुलाई भने घर घरमै वा आफन्त मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने वडाले जनाएको छ । वडामा नै सेवा लिन पाएपछि वडावासीहरु खुसी भएका छन् । यातायातको सुबिधा नपुगेको उक्त वडाका नागरिकहरुलाई रुकुमकोट सम्म पुग्ने बाध्यता हट्ने भएपछि वडावासी हर्षित भएका हुन् ।