Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणि २ का सडक बर्खायाममा चल्दैनन्, वडावासीलाई सास्ती 
पहिरो खसेर अवरूद्घ भएको सडक ।

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका वडा नम्बर २ का टोल टोलमा सडक पुगेको छ । ति सडक हाल नामका मात्र छन् । हरेक वर्ष वर्खायाममा गाउँमा नामका मात्र सडक हुन्छन् । वर्षाका कारण सडक अवरुद्ध हुँदा वडावासी सास्ती भोग्न बाध्य भएका छन् । 
वडावासी हाल कुनै ठाउँमा जानुपरे पैदल जानुपर्ने अवस्था छ भने खाद्यान्न सहित विभिन्न सामग्री बजारबाट गाउँमा ल्याउन र गाउँमा उत्पादन भएका वस्तु बजारसम्म लैजान समस्या भएको छ । सडक चल्ने हालतमा नभएपछि वडावासीले बोकेर आवश्यक सामग्री गाउँसम्म पर्याउने गरेका छन् । 

वडाका बेतखोला, गैरीनेटा, बाँदरपानी लगायत वडाका सबै टोलका नागरिकले हाल सडक प्रयोग गर्न पाएका छैनन् । जब बर्षायाम सुरु हुन्छ कुनै यातायातका साधन चल्दैनन । जब बर्षायाम सकिन्छ तब मात्रै असोज, कार्तिकबाट यातायातका साधन चल्छन । 
हरेक वर्ष असार महिना सुरु भएसंगै गाउँका सडकमा यातायातका साधन चल्न छोड्छन । बर्षायाममा यातायातका साधन नचल्नुको मुख्य कारण सडकको समस्या रहेको छ । कतै सडक माथीबाट पहिरो खसेको छ त कतै सडकको बेस नै भत्किएको छ । 

यातायातका साधन नचल्दा वडाका नागरिकहरुलाई दैनिकी उपभोग्य खाद्यान्न र ब्यापार व्यवशाय गर्नेलाई पसलको लागि आबश्यक पर्ने सामानको लागि करिब अढाई घण्टा बढी पैदल हिडेर त्रिबेनी गाउँपालिका वडा न २ मा रहेको सिम्रुतु बजार पुगेर खाद्यान्न बोकेरै लैजानु पर्ने बाध्यता रहेको वडावासीको भनाई छ । 


 

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update