रुकुम पूर्वबाट वितेको आर्थिक वर्ष २०७७.०७८ मा साढे १ लाख ११ हजार किलाे जडिबुटी निकासी भएको छ । जिल्लाबाट वितेको आर्थिक वर्षमा १ लाख ११ हजार पाँच सय ३१ किलो जडिबुटी निकासी भएको हो । डिभिजन वन कार्यालय रुकुम पूर्वका अनुसार जिल्लाबाट १ वर्षमा सबैभन्दा बढी पाषणवेद २१ हजार दुई सय किलो निर्यात भएको छ ।
त्यस्तै पदमचाल १९ हजार चार सय किलो, सेतकचिनी १७ हजार एक सय ३५ किलो, जट्टामसी ८ हजार किलो जिल्ला बाहिर निकासी भएको डिभिजन कार्यालय रुकुम पूर्वले जनाएको छ । सिस्नुका जरा ४ हजार एक सय किलो, अल्लो ३ हजार ३ सय ५० किलो, कुटुकी ७ हजार दुई सय किलो, अमलबेद ३ हजार ९० किलो, तिगेडी ३ हजार चार सय किलो, रिठ्ठा ३ हजार पाँच सय किलो र सबैभन्दा कम सोमायो २ हजार २ सय ५० किलो जडिबुटी निकासी भएको डिभिजन वन कार्यालय रुकुम पूर्वका सहायक वन अधिकृत सूर्यप्रसाद मैनालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा ८० देखी ९० प्रजातीका जडिबुटी पाइने गरेका छन । जट्टामसी, यार्सागुम्बा, सुगन्धा लगायतका जडिबुटी पाइने गरेको सहायक वन अधिकृत मैनालीले बताउनुभयो । यो वर्ष कोभिडका कारण यार्सागुम्बा भने निकासी हुन नसकेको बताईएको छ । हाल जिल्लाबाट ३० प्रजातीका जडिबुटी निकासा हुने गरेको डिभिजन वन कार्यालयले जनाएको छ । जडिबुटी निकासीबाट गत वर्ष जिल्लामा १९ लाख ६५ हजार ९ सय ५ रूपैंया राजश्व संकलन भएको कार्यालयको भनाई छ ।