साफको १३औं संस्करण आगामी महिना माल्दिभ्समा हुने तय छ । सो प्रतियोगितामा उपाधि जित्ने लक्ष्यका साथ तयारी नेपाली टिम गरिरहेको छ । हुन त प्रत्येक संस्करणमा नेपालको लक्ष्य उपाधि जित्ने नै हुन्छ । तर मैदानमा नेपाल सफल हुन सकिरहेको छैन । अहिले पोखरामा रहेको नेपाली टिम केही दिनपछि साफको तयारीका लागि कतार जाँदैछ । नेपाली टिम कतारबाट सिधै माल्दिभ्स पुग्ने कार्यक्रम छ ।
त्यसअघि नेपालले साफको सबैभन्दा सफल टिम भारतसँग मैत्रीपूर्ण खेल खेल्दैछ । आगामी बिहीबार र आइतबार हुने दुवै खेल दशरथ रंगशालामा हुनेछ । दुवै टिमले यो मैत्रीपूर्ण खेललाई साफ च्याम्पियनसिपको तयारीका रूपमा लिएका छन् । सोमबार काठमाडौं आइपुगेपछि भारतीय टिमका कप्तान सुनील क्षेत्रीले मैत्रीपूर्ण खेललाई साफ च्याम्पियनसिपको तयारीको रुपमा लिएको प्रतिक्रिया दिए ।
उनले नेपाली टिम बलियो भएको बताउँदै नेपालसँग खेल्न सधैं गाह्रो हुने पनि प्रतिक्रिया दिए । झापा मामाघर भएका क्षेत्री नेपाली समर्थकमाझ पनि लोकप्रिय छन् । सोमबार नेपाली भाषामा प्रतिक्रिया दिएका क्षेत्रीले आफ्नो हजुरबुबा-हजुरआमाको देशमा खेल्दा खुसी लाग्ने बताएका थिए।
नेपाली टिमले पनि भारतीविरुद्धको खेललाई साफ च्याम्पियनसिपअघिको अवसरको रुपमा लिएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफअघि भारतविरुद्ध खेल्दा फाइदा पुग्ने केही दिनअघि बताएका थिए । छिमेकी प्रतिद्वन्द्वनी नेपाल र भारतबीच सन् १९८५ मा पहिलो प्रतिस्पर्धा भएको थियो। त्यसयता नेपाल र भारतबीच अहिलेसम्म १९ खेल भएका छन्।
ती १९ मध्ये भारतले १३ खेलमा जित हात पारेको छ। नेपाल केवल २ खेलमा मात्र विजयी भएको छ। ४ खेल भने बराबरीमा सकिएका छन् । भारतले नेपालको पोस्टमा ३३ गोल गरेको छ। नेपालले भने ९ गोल मात्र गर्न सकेको छ । पछिल्लो पटक नेपाल र भारतबीच जुन ६, २०१७ मा प्रतिस्पर्धा भएको थियो । मुम्बईमा भएको सो खेलमा भारत २-० गोलले विजयी भएको थियाे ।
दुई टिमबीच दशरथ रंगशालामा २०१५ मा प्रतिस्पर्धा भएको थियो। विश्वकप छनोटको दोस्रो लेगको उक्त खेल गोल रहित बराबरीमा सकिएको थियो । सन् २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसिपको समूह चरणमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो । सो खेलमा नेपालले २-१ को रोमाञ्चम जित हात पारेको थियो । उक्त खेलमा नेपालका लागि अनिल गुरुङ र जुमानु राईले गोल गरेका थिए ।
दुई देशको प्रतिस्पर्धामा सुनील क्षेत्री बढी गोल गर्ने खेलाडी हुन् । उनले नेपालविरुद्ध आठ खेल खेल्दै पाँच गोल गरेका छन् ।
नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु
डिफेन्डर : सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द
मिडफिल्डर : सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, आयुष घलान
फरवार्ड : मनिष डाँगी, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशीष लामा
भारतीय टिम
गोलकिपर : अम्रिन्दर सिंह, धीरज सिंह, गुरप्रीत सिंह सान्धु
डिफेन्डर : प्रितम कोतल, चिंलेसना सिंह, मन्दर राओ देसाई, आकाश मिश्रा, राहुल भेके, शुभासिश बोसे, सेरिटन फर्नान्डेस
मिडफिल्डर : ललेङमाविआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह, जेकसन सिंह, प्रोनय हल्दर
फरवार्ड : मनवीर सिंह, रहिम अली, सुनील क्षेत्री, फारूख चौधरी
नेपाल भर्सेस भारतबीचको १९ खेलको नतिजा
२०-१२-१९८५ भारत ०-० नेपाल साफ गेम्स
२१-१२-१९८५ भारत २-० नेपाल साफ गेम्स
३०-११-१९८७ भारत १-० नेपाल साफ गेम्स
२६-१२०-१९८९ भारत २-१ नेपाल साफ गेम्स
२१-७-१९९३ भारत १-० नेपाल साफ च्याम्पियनसिप
१८-१२-१९९३ भारत २-२ नेपाल साफ गेम्स
२२-१२-१९९३ नेपाल २-२ (४-३) भारत साफ गेम्स
५-१२-१९९८ नेपाल ०-१ भारत एसियन गेम्स
३००-९-१९९९ नेपाल ०-४ भारत साफ गेम्स
८-१२-२००५ भारत २–१ नेपाल साफ च्याम्पियनसिप
३-६-२००८ भारत ४–० नेपाल साफ च्याम्पियनसिप
८-१२-२००९ भारत १– ० नेपाल साफ च्याम्पियनसिप
२८-८-२०१२ भारत ० – ० नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण
५-९-२०१३ नेपाल २ – १ भारत साफ च्याम्पियनसिप
१९-११-२०१३ भारत २ – ० नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण
१२-३-२०१५ भारत २ – ० नेपाल विश्वकप छनोट
१७-३-२०१५ भारत ० – ० नेपाल विश्वकप छनोट
२७-१२-२०१५ भारत ४-१ नेपाल साफ च्याम्पियनसिप
६-६-२०१७ भारत २-० नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण