Kakhara सबैको खबर सम्पूर्ण खबर
नेतृत्व टुंगो लाग्न नसकेपछि पदाधिकारी विहीन केन्द्रीय कमिटी घोषणा गर्दै वाईसीएल

नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएल नेतृत्व चयन गर्न असफल भएको छ । शनिबारदेखि जारी सम्मेलनमा सहमतिमै नेतृत्व छान्ने धेरै प्रयास भए पनि सफल हुन नसकिएपछि पदाधिकारीबिनाको केन्द्रीय कमिटी घोषणा गरेर आजै सम्मेलन टुंग्याउने तयारी गरिएको छ ।

 

राष्ट्रिय सम्मेलनका प्रचार विभाग प्रमुख पुष्प ओलीले केन्द्रीय कमिटीको पहिलो बैठकबाट पदाधिकारी चयन गर्नेगरी आजको बन्द सत्र शुरू भएको र केहीबेरमा सम्मेलन सकिने जानकारी दिनुभयाे । उहाँका अनुसार ज्येष्ठ केन्द्रीय सदस्यको अध्यक्षतामा केन्द्रीय कमिटी बैठक बसेर त्यहीँबाट पदाधिकारी चयन गर्ने सहमति बनेको हो ।

हालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले नेतृत्व छाड्ने भएपछि अध्यक्षका लागि तीनजना दाबेदार छन् । अध्यक्षका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानले दावी गर्नुभएकाे छ । २०७४ साल भदौमै भएको राष्ट्रिय भेलाबाट दीपशिखा अध्यक्ष चयन हुँदा देवकोटा उपाध्यक्ष हुनुहुन्थ्याे भने सेर्पाली महासचिव बन्नुभएकाे थियाे ।

त्यस्तै महासचिवमा चारजना आकांक्षी देखिएका छन् । कसम गुरुङ, गणेश शाही, मिङ्मातन्डु शेर्पा र नवराज ढुंगाना ‘विश्वास’ले महासचिवमा चाहना राख्नुभएकाे छ । यसमध्ये शाही र ढुंगाना सचिव हुनुहुन्थ्याे भने शेर्पा कोषाध्यक्ष हुनुहुन्थ्याे । सहमतिमै नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि माओवादी केन्द्रको सोमबारको स्थायी कमिटी बैठकले पदाधिकारी छान्ने जिम्मा अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ लाई दिएको थियो ।

तर, प्रचण्डले अघि सारेको विकल्पमा पनि सहमति बन्न नसक्दा वाईसीएलले अहिले वैकल्पिक बाटो रोजेको हो ।

प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update