विशेषज्ञ डाक्टर नहुँदा जिल्ला अस्पताल रुकुम पूर्वमा जटिल अवस्था भएका बिरामीलाई समस्या भएको छ । अस्पताल भए देखी यताका दिनहरुमा विशेषज्ञ डाक्टर नहुँदा जटिल खालका बिरामीहरुलाई समस्या परिरहेको छ । जिल्ला अस्पतालमा विभिन्न विधाका १० जना विशेषज्ञ डाक्टरहरुको पद रिक्त छ । स्त्री रोग विशेषज्ञ दुई जना र जनरल फिजिसियन सहित विभिन्न विशेषज्ञको दरबन्दी रहेपनि जनशक्ति भने छैनन् ।
अस्पतालमा विशेषज्ञ डाक्टरको आवश्यकता रहेको अस्पताल प्रमुख डाक्टर गणेश चौधरीले जानकारी दिनुभयो । प्रदेश सरकारले रिक्त रहेको दरबन्दीमा पदपूर्ति गर्न नसक्दा अहिले ६ जना मेडिकल अधिकृतहरुले अस्पताल धानी रहेका छन् । अहिले जिल्लामा हर्निया, हाईड्रोसिल, जटिल खालका सुत्केरी सेवा, नाक–कान तथा घाँटी सम्बन्धी समस्या, बाल रोग तथा छाला सम्बन्धी समस्या भएका बिरामीलाई जिल्ला बाहिर रेफर गर्दै आएको अस्पतालको भनाई छ ।
जिल्ला मै विशेषज्ञ डाक्टर मार्फत सेवा नपाईदा उपचारको लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको सिस्ने ५ का दलबहादुर बिकले बताउनुभयो । अस्पताल विकास समितिको बैठक बसी धेरै पटक विशेषज्ञ डाक्टरको माग गरिएको भएपनि वास्ता नगर्दा जिल्लावासीले सास्ती भोग्दै आइरहेका छन् ।