Kakhara सबैको खबर सम्पूर्ण खबर
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक अभाव

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कामले गति लिन सकेको छैन । दैनिक तीन सय १३ जनासम्म जनशक्तिले काम गर्दै आएकोमा रंगशालामा आर्थिक अभावका कारण हाल दैनिक ३०-३५ जनाले मात्रै काम गर्दै आएका छन् । त्यो जनशक्ति पनि नियमित छैन । धुर्मुस–सुन्तली फाउन्डेशनले भरतपुर महानगरपालिकासँग समन्वय गरेर काम गरेको हो ।

फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले आर्थिक अभावमा काम अघि बढ्न नसकेको बताउनुभयाे । सामान्य जनशक्तिले काम गरिरहेको भन्दै उहाँले साउन लागे यता आर्थिक अभावका कारण काममा बाधा पुगेको बताउनुभयाे । रंगशालामा हालसम्म रु ५३ करोड बराबरको काम भएको छ जसमध्ये रु १६ करोडभन्दा बढी तिर्न बाँकी रहेको लेखा प्रमुख मुक्ति तिमिल्सिनाले जानकारी दिनुभयाे । 

उहाँले भन्नुभयाे, “असार मसान्त हुँदै गर्दा सामाग्री दिनेहरुलाई भुक्तानी गर्न सकेनौँ । सामानकै अभावमा काम हुन सकेको छैन ।” उहाका अनुसार साउन १५ गतेयता जनशक्ति नियमित काममा लगाउन सकिएको छैन । सामग्री दिनेहरुले रकम माग्ने क्रम बढ्दो छ । अध्यक्ष कट्टेल दैनिक तीन सय १५ जनासम्म जनशक्तिले काम गर्दा रंगशालाको धेरै काम गर्न सकेको बताउनुहुन्छ ।

गत वर्षको साउन १ गतेबाट एक वर्षको अवधिमा ३५ प्रतिशत काम भएको भन्दै उहाँ आर्थिक अभाव नभएको भए ५० प्रतिशत काम सम्पन्न गरिसक्ने बताउनुहुन्छ । रकम जुटेमा आउँदो एक वर्षमा रंगशाला सम्पन्न हुने उहाँको भनाइ छ । हाल भुई र प्याराफिटको फिनिसिङको काम भइरहेको छ। बजेट भएको भए ढलानका काम अघि बढ्ने उहाँले बताउनुभयाे । विगत केही समययता काठमाडौँमा आर्थिक सहयोग जुटाउन आफू लागिपरेको उहाँले जानकारी दिनुभयाे । 

अर्थमन्त्री, खेलकुद मन्त्रालय लगायतका निकायमा आर्थिक सहयोग जुटाइदिन आफूले पहल गरिरहेको उहाँको भनाइ छ ।भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले नयाँ अर्थमन्त्री आएसँगै रंगशाला, नारायणी नदी तटबन्धन र महानगरको प्रशासनिक भवनका लागि बजेट माग गरी पत्राचार गरिएको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, “सङ्घीय, प्रदेश, महानगरसँगै दाताहरुको सहयोगमा छिट्टै रङ्गशाला निर्माण सम्पन्न गर्नुपर्छ भन्नेमा हामी लागिपरेका छौँ ।” महानगरभित्रको महत्वपूर्ण आयोजना रङ्गशाला भएको भन्दै उहाँले यसको कामलाई गति दिन आवश्यक रकम जुटाउनेमा लागिपरेको प्रस्ट्याउनुभयाे । बाइस बिघा १६ कट्ठा पाँच धुर जग्गामा रंगशाला निर्माण गरिँदैछ ।

विस्तृत परियोजना प्रतिवेदनमा एक लाख ५४ हजार पाँच सय ६ वर्ग मिटरमा रंगशाला निर्माण गर्ने र त्यसभित्र ३० हजार मानिस बसेर खेल अवलोकन गर्नसक्ने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update