Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्ने गाउँपालिका २ को तुबाङ खोलामा झोलुंगे पुल निर्माण हुँदै 
फाइल फाेटाे ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ को तुबाङ खोलामा झोलुङ्गे पुल निर्माण हुने भएको छ । वडा नम्बर २ को कोपेधारा (सकमेरी) मा झोलुङ्गे पुल निर्माण हुने भएको हो । विगत लामो समयदेखि जोखिम मोलेर तुवाङ खोला वारपार गर्दै आएका नागरिकको सहजताका लागि झोलुङ्गे पुल बन्न लागेको छ । 

लामो समयको प्रयासपछि लुम्बिनी प्रदेश सरकारले तुबाङ खोलामा पुल निर्माण गर्ने भएको हो । प्रदेश सरकारको ३० लाख बजेटबाट तुबाङमा पुल निर्माण हुने वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । सिस्ने गाउँपालिकाको मागपछि तुबाङ खोलामा पुल बनाउन भन्दै भौतिक तथा यातायात पूर्वाधार विकास निर्देशनालय लुम्बिनी प्रदेशले बजेट पठाएको हो । यसमा प्राविधिक सहयोग सेवक नेपालको रहेको छ । 

हालसम्म तुबाङ आसपपासका नागरिकले बर्षेनि काठे पुल हालेर खोला तर्दै आएका छन् । वर्षेनि नयाँ काठेपुल हालेपनि हरेक वर्षको वर्षातको समयमा उर्लेर आउने खोलाले पुल बगाउने गरेको छ । खोलाको तीरैतीर हिड्नलाई पनि त्यस क्षेत्रमा जोखिम छ । माथीबाट निरन्तर ढुङ्गा झर्ने भएकाले यात्राको लागि त्यस ठाउँ जोखिममा रहेको वडाध्यक्ष केसीले बताउनुभयो । 

सोही समस्यालाई मध्यनजर गर्दै खोलाको तीर भन्दा केहि माथी उठाएर अर्थात ३ देखि ४ सय मिटरको उचाइबाट कोपेधारा र सकमेरीलाई जोड्ने गरी पुलनिर्माण गरिने वडाध्यक्ष केसीले बताउनुभयो । तुबाङ खोलामा पुल निर्माण भयो भने सुद्रि, दत्कुना, नायगाड, खरिबोट, किँदा, प्वाङ लगाएत ठाउँका नागरिक प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । 

प्वाङ क्षेत्रका अधिकांस बस्तिहरुलाई फाइदा हुने छ । यतिमात्र नभई उक्त पुल हुँदै सिस्ने १ नम्बर वडामा पनि जान सकिने वडाध्यक्ष केसीले बताउनुभयो । प्रदेश सरकारले बजेट पठाइसकेको बताउदै अध्यक्ष केसीले डिपीआरको काम सुरु गरि टेन्डर आह्वान गर्ने बताउनुभयो । यसका साथै प्रदेश सरकारकै बजेटबाट सानीभेरीको सिउरेनीमा रहेको पुलको पनि मर्मत गरिने भएको छ । धेरै पहिले निर्माण भएको उक्त पुल अहिले जिर्ण अवस्थामा रहेको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update