Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा बिद्यालय खुले, भौतिक उपस्थितिमै पठन पठान  
लामाे समयपछि बिद्यालयमा पुगेर पढ्न पाएपछि बिद्यार्थीहरू हर्षित भएका छन् ।

रुकुम पूर्वमा भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ । कोरोना संक्रमणका कारण लामो समय बन्द रहेका बिद्यालय विस्तारै खुल्न थालेका हुन् । लामो समयपछि विद्यार्थीहरु बिद्यालयमा पुगेर पढ्न थालेका छन् । इन्टरनेट र टेलिभिजनको पहुँचमा रहेका बिद्यार्थीहरुले यस बीचमा वैकल्पिक माध्यमबाट पढ्न पाए पनि जिल्लाका बिद्यार्थीहरु पढाइबाट पूर्ण रुपमा बञ्चित थिए । वैकल्पिक माध्यमबाट पढ्न नपाएका बिद्यार्थीहरु भौतिक उपस्थितिमै पठन पाठन सुरु भएपछि उत्साहित देखिएका छन् । 

वैशाखमै सुरु हुनुपर्ने शैक्षिक सत्र यस वर्ष ढिला गरी असार १ गतेबाट सुरु भएको थियो । तर बिद्यार्थीहरुले पढ्न भने पाएका थिएनन् । वैकल्पिक माध्यमबाट पठनपाठन हुने सम्भावना नरहेपछि जिल्लामा भौतिक उपस्थितिमै पठन पाठन सुरु भएको हो । जिल्लामा तीन वटा गाउँपालिका छन् । भने १ सय ३३ वटा विद्यालय छन् । तीमध्ये केही बिद्यालय बाहेक अधिकांशमा शिक्षण सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार भौतिक उपस्थितिमै पढाइ सञ्चालन भइरहेको छ ।

कोरोना संक्रमणको जोखिम पूर्णरुपमा नहटेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी पढाइ सुरु गरिएको सिस्ने गाउँपालिका–६, को रुक्मिणी माध्यमिक बिद्यालयका प्रधानाध्यापक कृष्ण गौतमले बताउनुभयो । सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै बिद्यार्थी धेरै भएको विद्यालयमा सिफ्ट विभाजन गरेर पठनपाठन सुरु गरेको बताउनुभयो । बेला बेलामा बिद्यालयमा अनुगमन पनि गरिने उहाँको भनाइ छ । 

यस्तै, भूमे गाउँपालिकाले शिक्षण सिकाई निर्देशिका अनुसार पठनपाठन सुरु गरिसकेको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख कौशलकुमार तिवारीले बताउनुभयो । गाउँपालिका भित्रका सबै विद्यालयमा सिकाई केन्द्र स्थापना गरेर पठन पाठन सुरु गरेको तिवारीले बताउनुभयो । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाले पनि साउन २४ गतेबाट पठनपाठन सुरु गरिसकेको छ । तर गाउँपालिकाका केही विद्यालयमा भने पठन पाठन सुरु हुन सकेको छैन् ।
 

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update