नेकपा एमालेबाट छुट्टीएर बनेको नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य शेरबहादुर केसीले नेकपा एमाले ठुलो कि नेकपा एकीकृत समाजवादी पार्टी ठुलो भन्ने कुरा निर्वाचनपछि निश्चित हुने बताउनुभएको छ । अहिले नै कुन ठुलो पार्टी हो भनेर दाबी गर्नुको तुक नभएको उहाँले बताउनुभयो । पार्टीको जिल्ला कमिटी निर्माण भएपछि मुसीकोट खलंगामा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य केसीले एमाले ठुलो कि (एकीकृत समाजवादी) पार्टी ठुलो भन्ने कुरा चुनावले निक्र्यौल गर्ने बताउनुभएको हो ।
साथै उहाँले एमालेभित्र बस्नै नसक्ने अबस्था आएपछि नेकपा (एस)को जन्म भएको बताउनुभयो । आफुहरु सिंगो नेकपा हुँदा देखि नै एकताको पक्षमा रहेको र एमालेमा पनि एकीकृत रुपमा बस्न चाहदा चाहदै लगातारको पेलाईले बस्नै नसकिने अवस्था सृजना भएको उहाँको भनाई छ । बाध्य भएर नयाँ पार्टी निर्माण गर्नुपरेको उहाँले बताउनुभयो । केपी ओलीको सर्वसत्तावाद, अधिनायकत्वले एमालेलाई छिन्नभिन्न पारेको उहाँको दाबी छ ।
ओलीको पेलानमा रहेकाहरु ढिलो, चाँडो (एकीकृत समाजवादी) मै फर्किने ठुकुवा पनि केन्द्रीय सदस्य केसीले गर्नुभएको थियो । उहाँले ओलीको घेर तोडेर पार्टीमा आउँन पनि एमालेमा रहेकाहरुलाई आग्रह गर्नुभएको थियो । माक्र्सवाद, लेनिनवादको शिद्धान्तमा आफ्नो पार्टी रहेको उहाँले दाबी गर्नुभयो । माक्र्सवाद र लेनिवादको दर्शनलाई व्यवहारमै लागु गरेर पार्टीलाई गति दिने उहाँले बताउनुभएको छ ।