Kakhara सबैको खबर सम्पूर्ण खबर
सबैतिर स्वास्थ्य सेवाको पहुँच
चौरजहारी नगरपालिकाले सञ्चालनमा ल्याएको सहिद स्मृति नगर अस्पताल ।

पछिल्लो पटक जिल्लामा ४ वटा अस्पताल थप भए । जिल्लाका ४ स्थानीय तहले आफ्नै पहलमा डाक्टर सहितका अस्पताल स्थापना गरेका हुन् । २०७४ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचन सकिएको साढे तीन वर्षमा ४ वटा अस्पताल थपिएका हुन् । २ वटा नगर अस्पताल थप भएका छन् भने २ वटा गाउँपालिका अस्पताल थप भएका छन् ।

२०७५ सालको असोजमा आठबीसकोट नगरपालिकामा नगर अस्पताल सञ्चालनमा ल्याएको थियो भने २०७६ को फागुनदेखि सानीभेरी गाउँपालिकाले गाउँपालिका अस्पताल सञ्चालनमा ल्याएको छ । २०७७ को कार्तिक महिनादेखि चौरजहारी नगरपालिकाले पनि सहिद स्मृति नगर अस्पताल सञ्चालन गरिरहेको छ । त्रिवेणि गाउँपालिकामा पनि डाक्टर सहितको अस्पताल सुरु भएको छ । यि ४ वटै स्थानीय तहले आफ्नै स्रोत साधन प्रयोग गरेर अस्पताल सञ्चालनमा ल्याएका हुन् ।

आठबीसकोटको ९ नम्बर वडा राडीमा नगर अस्पताल छ । सानीभेरीले ७ नम्बर वडाको छोटेबगरमा गाउँपालिका अस्पताल सञ्चालन गरेको छ । चौरजहारीले १० नम्बर वडाको खोलागाउँमा नगर अस्पतालबाट सेवा प्रवाह गरिरहदा त्रिवेणि गाउँपालिकाको ३ नम्बर वडाबाट ग्राम अस्पतालले सेवा प्रवाह गरिरहेको छ । यि २०७२ मा जारी नेपालको संविधानमा हरेक स्थानीय तहका एउटा अस्पताल निर्माण हुने उल्लेख छ ।

जिल्लाका यि ४ स्थानीय तहले संविधानको कार्यान्वयन गरेका छन् । मुसीकोट नगरपालिकामा यस अघि नै जिल्ला अस्पताल छ भने केही निजि अस्पताल पनि सञ्चालनमा छन् । बाँफिकोट गाउँपालिका पनि अस्पताल बनाउने योजनामा रहेको छ । हरेक नगरपालिकामा २५ र गाउँपालिकामा १५ शैøयाको अस्पताल बनाउने भनेर संविधानमै उल्लेख गरिएको छ । सोही अनुसार रुकुम पश्चिमका स्थानीय तह स्वास्थ्य सेवाको पहुँच सबैतिर पुर्याउन लागि परिरहेका छन् ।

७३ वडामै स्वास्थ्य सेवा
६ स्थानीय तहमा ७३ वडा छन् । मुसीकोट, चौरजहारी र आठबीसकोट नगरपालिकामा १४, सानीभेरी गाउ“पालिकामा ११, बाँफिकोट र त्रिवेणि गाउँपालिकामा १०/१० वडा छन् । सबै वडामा आधारभुत स्वास्थ्य सेवा स्थापना भएको छ । यी मध्य पहिल्यै २८ वडामा प्राथमिकत स्वास्थ्य केन्द् तथा स्वास्थ्य चौकी थिए भने बाँकी ४५ वडामा स्थानीय सरकारले आधारभुत स्वास्थ्य सेवा कार्यालय स्थापना गरेर सेवा प्रवाह गरिरहेका छन् ।

मुसीकोट नगरपालिकाका ३, ७, ९, ११ र १४ नम्बर वडामा पहिल्यै स्वास्थ्य चौकी थिए । बाँकी ९ वडामा मुसीकोट नगरपालिकाले आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा प्रवाह गरिरहेको छ । मुसीकोटले ६ नम्बर वडाको झुल्खेतमा प्रयोगशाला स्थापना गरेर पनि सेवा प्रवाह गरिरहेको छ । चौरजहारी नगरपालिकाका ५, ७, ६, ११ र १४ नम्वर वडामा पहिल्यै स्वास्थ्य चौकी थिए भने बाँकी ९ वडामा नगरपालिकाले आधारभुत स्वास्थ्य कार्यालय स्थापना गरेर सेवा प्रवाह गरिरहेको छ ।

२, ४, ९, ११ र १४ वडामा पहिल्यै स्वास्थ्य चौकी थिए भने नगरपालिकाले ९ वडामा आधारभुत स्वास्थ्य सेवा कार्यालय बनाएरै सेवा प्रवाह गरिरहेको छ । बाँफिकोटका २, ४, ६ १० वडामा यस अघि नै स्वास्थ्य चौकी थिए भने अरु ६ वडामा आधारभुत स्वास्थ्य कार्यालय स्थापना गरिएको छ । सानीभेरीका १, ४, ६, ९ र ११ नम्बरमा पहिल्यै स्वास्थ्य चौकी थिए भने बाँकी ६ वडामा सानीभेरी गाउँपालिकाले स्वास्थ्य सेवा प्रवाह गर्न आधारभुत स्वास्थ्य सेवा कार्यालय सञ्चालनमा ल्याएको छ ।

२, ४, ७ र १० नम्बर वडामा पहिल्यै स्वास्थ्य चौकी भएको त्रिवेणिले पनि बाँकी ६ वडामा आधारभुत स्वास्थ्य कार्यालय स्थापना गरेर आधारभुत सेवा प्रवाह गरिरहेको छ । बाँफिकोट गाउँपालिकाका स्वास्थ्य सहसंयोजक सुनिल केसीले बाँकी ६ मध्य केहीमा भवन समेत बनाउने काम भइरहेको जानकारी दिनुभयो । ३ नम्बर वडाको स्वास्थ्य भवन बन्ने पक्रियामा रहेको अरु वडाको भवन पनि बनाउने प्रक्रियामा रहेको केसीले जानकारी दिनुभयो । मुसीकोट नगरपालिकाका स्वास्थ्य संयोजक मानबहादुर खत्रीले सकेसम्म स्वास्थ्य सेवाबाट सर्वसाधारणलाई बञ्चित नगराउने गरी काम भइरहेको बताउनुभयो ।

केही असजिला, अफ्ठ्यारा र अपुगताको बीचबाट पनि सबै वडाबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको भनाई उहाँको छ । आठबीसकोट नगरप्रमुख गोर्खबहादुर केसीले संविधानमा उल्लेख भए अनुसार २५ शैøयाको अस्पताल सञ्चालनमा आइसकेको जानकारी दिनुभयो । उक्त अस्पताललाई व्यवस्थित बनाउन आधुनिक अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको नगरप्रमुख केसीले बताउनुभयो । सर्वसाधारणलाई सकेसम्म सबै खाले उपचार सुविधा दिने गरी नगरपालिकाले काम गरिरहेको भनाई उहाँको छ ।

सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले पहिलाको स्वास्थ्य चौकीलाई गाउँपालिका अस्पताल बनाइएको जानकारी दिनुभयो । तत्काल अस्पताल सञ्चालनमा उक्त भवन प्रयोग भएपनि अब अस्पताल भवन निर्माणका लागि १८ करोडको बहुवर्षीय योजना परिसकेको जानकारी दिनुभयो । उक्त भवन निर्माणपछि विरामीले थप सहज रुपमा सेवा पाउने विश्वास लिइएको अध्यक्ष पुनको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update