रुकुम पश्चिममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को जिल्ला कमिटी घोषणा गरिएको छ । बिमलकुमार पुनको अध्यक्षतामा १०६ सदस्यीय जिल्ला कमिटी निर्माण गरिएको हो । पुन यसअघि नेकपा एमाले रुकुम पश्चिमको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । पार्टीले अध्यक्ष, सचिव र उप सचिव सहित १०६ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ । जिल्ला कमिटीको सचिवमा हरिप्रसाद शर्मा र उप सचिवमा माधवप्रसाद गौतम रहनुभएको छ ।
जिल्ला कमिटीका पदाधिकारी सहित एमालेको लगभग सिंगो टीम नै नेकपा समाजवादीमा रुपान्तरण भएको जिल्ला अध्यक्ष बिमलकुमार पुनले बताउनुभयो । एमालेको ६५ सदस्यीय जिल्ला कमिटीका ४६ जना नेकपा (एकीकृत समाजवादी) पार्टीमा रहेको पुनले दाबी गर्नुभयो । बाँकी मध्य केही पनि आउने तयारीमा रहेको उहाँले दाबी गर्नुभएको छ । ६५ सदस्यीय जिल्ला कमिटीका ५ जना भने हाल नेकपा (माओवादी) केन्द्रमा रहेका छन् ।
यो हिशावले रुकुम पश्चिममा नेकपा (एमाले) नेकपा (एकीकृत समाजवादी)को तुलनामा निकै कमजोर देखिएको छ । जनप्रतिनिधिहरु पनि अधिकांश आफुहरुसंगै रहेको नेकपा (एकीकृत समाजवादी)को दाबी छ । आफुहरुको पक्षमा आज जिल्ला निर्वाचन कार्यालयमा पुगेर जनप्रतिनिधिहरुले सनाखत गर्न लागेको पार्टीले जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी)ले जिल्ला कमिटी घोषणा सहित मुसीकोट खलंगाको कालिकास्थानमा पार्टी कार्यालय स्थापना गरेको छ । बागबजारमा रहेको पार्टी कार्यालयमा एमाले रहेको छ ।