निर्वाचन आयोगले भाद्र २२ गतेभित्र नेकपा एमाले वा नकपा एकीकृत समाजवादी पार्टी मध्य एक रोज्न प्रदेश र स्थानीय तहका जनप्रनिधिहरुलाई समयसीमा दिएको छ । सोही अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु खुल्न थालेका छन् । रुकुम पश्चिममा एमालेबाट स्थानीय तहका ११ र प्रदेशमा एक, प्रतिनिधि सभामा एक र राष्ट्रिय सभामा एक जनप्रतिनिधि रहेका छन् । स्थानीय तहका ११ मध्य ७ प्रतिनिधि आफुहरुसंग रहेको एकीकृत समाजवादी पाटीएको दाबी छ । एमालेले २ वटा र एक वडामा एक सदस्य जितेको छ ।
आठबीसकोट नगरपालिका १३ र चौरजहारी नगरपालिका १३ मा अध्यक्ष सहित ४/४ जना सदस्य र चौरजहारी ११ मा एक जना सदस्य एमालेबाट विजयी भएका छन् । त्यसमध्य आठबीसकोट नगरपालिका १३ का वडाध्यक्ष विनोद पुन सहित ४ जना सदस्यले आज आफ्नो पार्टीमा सनाखत गर्न लागेको नेकपा (एस)का जिल्ला अध्यक्ष बिमलकुमार पुनले जानकारी दिनुभयो ।
त्यस्तै चौरजहारी नगरपालिका ११ का वडा सदस्य लोकेन्द्र केसीले पनि नेकपा (एस)मै सनाखत गर्ने र वडा नम्बर १३ बाट एक वडा सदस्य आफ्नो पक्ष आउने पुनले बताउनुभयो । वडा नम्बर १३ का अध्यक्ष टंक ओली भने हाल नेकपा एमालेको जिल्ला अध्यक्ष हुनुहुन्छ । आज आफ्नो पक्षमा रहेका सबै जनप्रतिनिधिले निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्ने अध्यक्ष पुनको भनाई छ ।
प्रदेश सभा सदस्य देवि ओलीले यसअघि नै नेकपा (एस)को पक्षमा सनाखत गरिसक्नु भएको छ । राष्ट्रिय सभा सदस्य ठगेन्द्रप्रकाश पुरी पनि नेकपा (एस)मै रहेको जिल्ला अध्यक्ष पुनले बताउनुभयो । प्रतिनिधिसभा सदस्य तिर्था गौतम भने एमालेमा हुनुहुन्छ ।