रुकुम पूर्वमा यस आर्थिक वर्षबाट माहुरी र बंगुर ब्लक कार्यक्रम सञ्चालन हुने भएका छन् । जिल्लामा चालु आर्थिक वर्षमा नयाँ दुई वटा ब्लकका कार्यक्रम थपिएका हुन् । सिस्ने गाउँपालिकामा माहुरी र भूमे गाउँपालिकामा बंगुरको ब्लक कार्यक्रम थपिएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । सिस्ने गाउँपालिकाको ३ र ४ नम्बर वडामा माहुँरीको ब्लक कार्यक्रम सञ्चालन हुने छ । भने भूमे गाउँपालिकाको १, २ र ३ नम्बर वडामा बंगुरको ब्लक कार्यक्रम सञ्चालन हुने एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका केषि अधिकृत थलराज बस्नेतले बताउनुभयो ।
जिल्लाकाे आवश्यकता र सम्भावयता अध्यन गरेर यस वर्षको लागि माहुँरी र बंगुरको ब्लक सञ्चालनको लागि माग गरि पठाएको र संघ सरकारबाट स्विकृत भएर आएको कृषि अधिकृत बस्नेतले बताउनुभयो । उहाँका अनुसार अहिले ब्लक कार्यक्रम सञ्चालनको लागि सुचना आह्वान गरि आवेदन माग गरिएको छ । माहुरी ब्लक कार्यक्रमको लागि ८ सय गोला माहुरी हुनुपर्ने छ । यस्तै बंगुर पालन ब्लकको लागि कम्तिमा पनि ३ सय बंगुर हुनुपर्ने छ । एउटै व्यक्ति, समुह, सहकारीसँग ८ सय माहुरी गोला र ३ सय बंगुर नभएको खण्डमा भने सहकार्य गरेर आवेदन दिन सकिने बताइएकाे छ ।
ब्लक कार्यक्रम सञ्चालन भएका कृषकको मागमा आधारित कार्यक्रमहरु सञ्चालन हुने छन् । जसमा कृषकहरुलाई कार्यालयले ५० प्रतिशत अनुदान दिने छ भने ५० प्रतिशत लगानी स्वयंको हुने कार्यालयले जनाएकाे छ । माहुरी ब्लकको लागि २५ लाख र बंगुर ब्लकको लागि ३० लाख बजेट बिनियोजन गरिएको छ । जिल्लामा यो भन्दा अगाडि पनि ३ वटा ब्लक सञ्चालनमा छन् । सिस्ने गाउँपालिका ६ मा तरकारी खेती, भूमे ७ मा आलु र पुथाउत्तरगंगा २ मा स्याउको ब्लक कार्यक्रम सञ्चालनमा छ । यस वर्ष नयाँ थपिएका दुई वटा ब्लक कार्यक्रमसँगै जिल्लामा ब्लक कार्यक्रम पाँच वटा भएका छन् ।