रुकुम पूर्वमा नेपाली काँग्रेसको वडा अधिवेशन सकिएको छ । आज जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १, २, ३, ४, ५ र ६ मा अधिवेशसन भएसँगै जिल्लाका तीन वटै गाउँपालिकामा रहेका ३१ वडामा अधिवेशन सम्पन्न भएको हो । जिल्लाका सिस्ने र भूमे गाउँपालिका अन्तर्गतका वडाहरुमा शुक्रबार र शनिबार अधिवेशन भएको थियो ।
आज पुथाउत्तरगंगाका ६ वटा वडामा नयाँ कार्यसमिति चयन गरेसँगै जिल्लाभर वडा अधिवेशसन सम्पन्न भएको जिल्ला सहायक निर्वाचन अधिकृत रमेश शर्माले जानकारी दिनुभयाे । ३१ वटै वडामा सर्वसम्मतिले वडा कार्यसमिति चयन गरिएको सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।
भूमेको ६ नम्बर वडा र पुथाको ८ नम्बर बाहेक अन्य वडामा २० देखी २५ वर्षसम्मका युवाले वडा सभापतिको जिम्मेवारी पाएका छन् । वडा अधिवेशनबाट प्रत्यक वडामा सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।
यस्तै वडा सदस्य र क्षेत्रीय प्रतिनिधि पनि निर्वाचित गरिएको छ । प्रत्यक्ष निर्वाचित तीन महिला र ६ पुरुष गरी ९ जना समानुपातिक तर्फ २ महिला, २ पुरुष, दलित एक सहित प्रत्यक वडामा २२ सदस्यीय कार्य समिति चयन गरिएको हो । यस्तै क्षेत्रिय प्रतिनिधिमा प्रत्यक्ष निर्वाचित ६ पुरुष ३ महिला गरी ९ जना, समावेशी तर्फ ६ जना सहित १५ जना चयन गरिएको नेपाली काँग्रेस रुकुम पूर्वले जनाएको छ ।