रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा रहेको सिस्ने हिमाल बाल गृहमा संरक्षित एक बालिकामाथी बलात्कार भएको पुष्टि भएको छ । तीन वर्षदेखि उक्त बाल गृहमा रहेकी १३ वर्षीया बालिकामाथी बलात्कार भएको पुष्टि भएको हो । बाल गृह सञ्चालककै छोरा २२ वर्षीय कुश्माकर चनाराले ति बालिकामाथी बलात्कार गरेको पाइएको हो । आफूमाथि बलात्कार भएको भनेर नगरपालिकाको न्यायिक समितिमा उजुरी परेपछि बालिका बलात्कृत भएको पुष्टि भएको हो ।
बालिकाले उजुरी लेखेपछि न्यायिक समिति संयोजक तथा नगरपालिका उपप्रमुख गीता नेपालीले नगर अस्पतालमा स्वास्थ्य परीक्षण गराउनु भएको थियो । स्वास्थ्य परीक्षणपछि बालिकाको पेटमा ९ देखि १० हप्ताको गर्भ रहेको पुष्टि भएको हो । आफूमाथि २०७७ सालदेखि नै बलात्कार हुँदै आएको बालिकाले बताएकी छिन् । बालिकाले आफूमाथी बलात्कार भएको बाल गृह सञ्चालक सुनिता चनारा र १० नम्बर वडाध्यक्ष समेत रहेका गंगाराम चनाराले समेत श्रम शोषण गरिरहेको उजुरी परेको छ ।
उक्त उजुरी उपर थप कारबाहीका लागि नगरपालिकाले जिल्ला प्रशासन हुँदै जिल्ला प्रहरीमा पठाइदिएको छ । आठबीसकोट नगरप्रमुख गोर्खबहादुर केसीले उजुरी आएपछि दोषि उपर कारबाहीका लागि भन्दै जिल्ला प्रशासन र प्रहरीमा पठाइदिएको जानकारी दिनुभयो । नगरपालिकाले एक चिठी लेखेर बालिकाको उजुरी, स्वास्थ्य परीक्षण गरेको रिर्पोट समेत जिल्ला प्रशासन हुँदै जिल्ला प्रहरीमा पठाइदिएको नगरप्रमुख केसीले बताउनुभयो । अरोपि कुश्माकर भने फरार छन् । प्रहरीले उनका आमा सुनिता र बाबु गंगारामसँग सोधपुछ गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।