नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीचको पहिलो ओडिआई खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार बिहान ११:१५ मा अल अमरेत क्रिकेट मैदान ओमानमा सुरु हुने छ । नेपालको ज्ञानेन्द्र मल्ल र पिएनजीको असाद भालाले कप्तानी गर्ने छन् ।
नेपाल पहिलो ओडिआई खेलमा पिएनजीलाई पराजित गर्दै ओमान भ्रमणमा सानदार सुरुवात गर्न चाहन्छ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नुअघि तयारी स्वरुप पिएनजीसँग दुई ओडिआई खेल खेल्न लागेको हो । पिएनजीसँग दुई ओडिआई खेलपछि नेपालको सम्पूर्ण तयारी पूरा हुने छ । नतिजाले वरीयता बाहेक अन्यमा खासै फरक नपर्ने हुँदा टोलीमा कुनै दबाब छैन । यो खेल कमजोरी पहिचान र सुधार गर्ने राम्रो अवसर हुने छ ।
नेपालले १९ महिनापछि ओडिआई खेल खेल्न लागेको हो । पिएनजी सोमबार अमेरिकासँग ७ विकेटले पराजित भएको थियो । पछिल्लो पटक नेपालले ओडिआई २०२० फेब्रुअरीमा नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकासँग टियु मैदानमा खेलेको थियो । त्यसपछि नेपालले पहिलो पटक ओडिआई खेल खेल्न लागेको हो । वैशाखमा नेपालले मलेसिया र नेदरल्यान्ड्सँग टि२० आई त्रिकोणात्मक सिरिजमा सानदार ब्याटिङ गर्दै उपाधि जितेको थियो । सुरुवात दुई खेलमा सहज जित निकालेको नेपालले अन्तिम तीन खेलमा लगातार २ सय माथिको योगफल कटाएको थियो ।
नेपाल उच्च मनोबलका साथ ओमानमा छ । टि२० आईको प्रदर्शन ओडिआईमा निरन्तरता दिन चाहन्छ । ब्याटिङमा नेपालले ठूलो अपेक्षा राखेको छ । नेपालका दुबै ओपनर आसिफ शेख र कुशल भर्तेलको ओडिआईमा डेब्यू गर्ने सम्भावना छ । कुशल भुर्तेल र आसिफ शेखले टि२० आईमा सर्वोत्कृष्ट प्रदर्शन गरेको हुँदा ओडिआईमा निरन्तरता दिने विश्वास गरिएकाे छ ।