जिल्ला क्रिकेट संघ रुकुम पश्चिम पुनर्गठन गरिएको छ । शुक्रबार जिल्ला सदरमुकाममा भएको संघको पहिलो साधारण सभाले पुनः दिपक बाँठामगरलाई अध्यक्षमा चयन गरेको हो । ९ सदस्यीय समितिमा केही सदस्य हेरफेर बाहेक अन्य सबै यसअघि कै पदाधिकारीलाई निरन्तरता दिइएको छ ।
संघको उपाध्यक्षमा लक्ष्मण ओली र गोपाल लामिछाने, सचिवमा मनिष खड्का र कोषाध्यक्षमा नरवहादुर ओलीले नै निरन्तरता पाउँनुभएको छ । सदस्यहरुमा कुलप्रसाद ओली र नवराज बाँठाले निरन्तरता पाउँदा अनिशेष केसी र रोशन शाही सदस्य चयन हुनुभएको छ । तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकारहरुमा सुवोधराज शिर्पाली, बसन्त पुन र हरि गौतम रहनुभएको छ ।
साधारण सभामा बोल्दै नेपाल क्रिकेट संघ(क्यान)का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संयोजक पदमबहादुर खड्काले कर्णालीको क्रिकेट विकासमा सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । क्यान निलम्बन फुकुवा भइसकेपछि क्रिकेट गतिविधिहरु बढ्न थालेको र आफु कर्णालीलाई किक्रेटको क्षेत्र बनाउन लागि परेको उहाँको भनाई छ ।
कर्णालीमा अहिलेसम्म सुर्खेत मात्र क्यानमा आवद्ध रहेको अवस्थामा अव अन्य जिल्लालाई पनि मान्यता दिलाएर कर्णालीलाई क्षेत्र बनाउन पहल गरिरहेको उहाँले बताउनुभयो । कर्णालीले अहिले पनि लुम्बिनि प्रदेश संग मिलेर खेल्नुपर्ने बाध्यता रहेको र यसले यहाँको क्रिकेट विकासमा बाधा गरिरहेको भन्दै कर्णाली छुट्टै क्षेत्र बन्नुपर्नेमा उहाँको जोड छ ।