“व्यवसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन “ भन्ने नाराका साथ आज रूकुम पश्चिममा पनि विविध कार्यक्रमका साथ निजामती सेवा दिवस मनाईएको छ । कोभिड–१९ को संक्रमणलाई मध्यनजर गरि भीडभाडयुक्त कार्यक्रमको आयोजना भने गरिएन् । दिवसको अवसरमा जिल्लास्थित सबै कार्यालयहरूको परिसर सरसफाइ, कार्यालयका मुल द्वारमा निजामती सेवा दिवसको नारा टाँस गर्ने, पहिले आउने सेवाग्राहीलाई सम्मान गर्ने, राष्ट्रसेवक कर्मचारी वृक्षारोपण अभियानको शुरूवात गर्ने लगायतका कार्यक्रम आयोजना गरिएको छ ।
वृक्षारोपण अभियानको मुसिकोट नगरपालिका वडा नम्बर १ स्थित भलखोली महिला सामुदायिक बनमा ५० वटा पाउलोनियाका बिरुवा रोपी सुरूवात गरिएको छ । यस कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतम, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, जिल्ला समन्वय अधिकारी प्रदर्शनी कुमारी, मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी लगायतको उपस्थिति रहेको थियो ।
दिवसकै अवसर पारी जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने ७ जना सेवाग्राहीलाई प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश शिवाले स्वागत तथा सम्मान गर्नुभएको थियो । त्यस्तै मुसीकोट नगरपालिकाले पनि दिवसको अवसरमा सेवाग्राहीलाई सम्मान गरेको छ । नगरपालिकाले आज सबैभन्दा पहिला सेवा लिन आउने ३ जना सेवाग्राहीलाई अविर लगाएर तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो ।