रुकुम पश्चिममा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित भएका ३ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्नका लागि आज सम्मको समय दिएको थियो ।
यस अवधिमा १ जना वडाध्यक्ष सहित सोही वडाका २ जना सदस्यले जिल्ला निर्वाचन कार्यालयमा पुगेर नेकपा (एस)मा आफ्नो नाम सनाखत गराएका हुन् । नेकपा (एस)मा नाम सनाखत गर्नेमा आठबीसकोट नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष बिनोद पुन सोही वडाका खिर्मि पुन र तेजबहादुर पुन रहेका छन् ।
जिल्लामा २ वडाध्यक्ष सहित ११ जना नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित भएका थिए । यसअघि नेकपा (एस)ले ७ जना जनप्रतिनिधि आफ्नो पार्टीमा आउने बताएको थियो । तर सनाखत भने ३ जनाले मात्र गरेका छन् । एमालेमा अब १ वडाध्यक्ष सहित ८ जना जनप्रतिनिधि छन् ।